आईपीएलको प्लेअफ समिकरण पूरा, कुन टीम कोसँग भिड्ने?

काठमाडौँ । क्रिकेटको महाकुम्भ मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफ समिकरण पूरा भएको छ ।
गयराति सम्पन्न रोेयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीचको खेल सकिएसँगै प्लेअफको समिकरण पूरा भएको हो । योसँगै प्ले अफमा कुन टीमले कुन टीमसँग खेल्ने भन्ने पनि टुङ्गो लागेको छ ।
गयराति लखनउलाई ६ विकेटले पराजित गर्दै बैङ्गलोरले जित हात पार्दै अङ्क तालिकाको दोस्रो स्थानमा पुग्दै प्ले अफको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । अब बैङ्गलोरले प्ले अफको पहिलो क्वालिफायरमा पञ्जाब किङ्ग्ससँग फाइनलमा स्थान बनाउनका लागि भिड्ने छ । पञ्जाब र बैङ्गलोरबीचको पहिलो क्वालिफायर बिहीवार साँझ ७ः४५ बजेबाट चण्डीगढमा हुनेछ । पहिलो क्वालिफायरमा जित्ने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।
त्यस्तै अङ्क तालिकाको क्रमशः तेस्रो र चौथो स्थानमा रहेको गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच एलिमिनेटर खेल हुनेछ । यी दुई टीमबीचको खेल शुक्रवार साँझ ७ः४५ बजेबाट मुल्लानपुरमा हुनेछ । एलिमिनेटरमा जित्ने टीमले दोस्रो क्वालिफायरमा खेल्ने मौका पाउने छ भने पराजित टिम लिगबाट बाहिरिने छ । एलिमिनेटरमा जित्ने टिमले पहिलो क्वालिफायरको पराजित टिम पञ्जाब वा बैङ्गलोरमध्ये कुनै एक टीमसँग फाइनलमा स्थान बनाउनका लागि आइतवार खेल्ने छ ।
आईपीएलको उपाधि भिडन्त भने आइतवार अहमदावादमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।






