जनकपुरमा प्रधानमन्त्रीको कार्यक्रममा सभामुखका सल्लाहकार यादवको ‘दादागिरी’, पत्रकारलाई प्रवेशमा रोक

जनकपुरधाम । जनकपुरधाममा आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका सल्लाहकार लक्ष्मीनारायण यादवले गरेको हस्तक्षेपका कारण पत्रकारलाई समाचार संकलनमा रोक रोक लागेको छ।
मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको “गौरवको योजना” अन्तर्गत ६४ वटै निर्वाचन क्षेत्रका सडकहरू कालोपत्रे गरिने कार्यको जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहबाट दिउँसो १ बजे डिजिटल माध्यममार्फत शिलान्यास गर्ने कार्यक्रममा समाचार संकलनका लागि पुगेका मधेश पत्रका सञ्चालक तथा पत्रकार मनोज कुमार मोरबैतालाई रोक लगाइएको छ।
पत्रकार मोरबैताले सुरक्षाकर्मीको सुरक्षा जाँचपछि कार्यक्रम स्थलमा प्रवेश गर्न लाग्दा सभामुखका सल्लाहकार यादवले दादागिरीपूर्ण शैलीमा उनलाई गेटमै रोकेको बताएका छन्। सभामुखको सल्लाहकार यादवले आफू नै आयोजक भएको भन्दै पत्रकार मनोजलाई प्रवेशमा अवरोध गरेका थिए। जबकि कार्यक्रमको आधिकारिक आयोजना मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको हो। यसरी उनले कार्यक्रममा हस्तक्षेप गर्दा उक्त कार्यक्रम मन्त्रालयको भन्दा पनि पार्टीको कार्यक्रम बनेको देखिएको छ।
यता सोही कार्यक्रममै नेकपा (एमाले)का कार्यकर्ताहरूलाई उनकै निर्देशनमा सजिलै प्रवेश दिइएको थियो, तर पत्रकारलाई रोकिएको घटनाले पूर्वाग्रही र पक्षपातपूर्ण व्यवहार देखिएको छ।
सल्लाहकार लक्ष्मीनारायण यादव हालै सम्पन्न नेकपा एमाले धनुषा जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थिए। सो अधिवेशनका क्रममा देखिएका विवादबारे मधेश पत्रमा पटक–पटक समाचार प्रकाशित भएका थिए। सोही कारणले पत्रकार मोरबैताप्रति पूर्वाग्रह देखाइएको हुन सक्ने बुझिएको छ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।






