१५ दिन अघि प्रवेश गरेको मनसुन अब साता दिनसम्म निष्क्रिय रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ ।
बिहीवार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ्न सक्ने सम्भावना रहेको माहाशाखाको अनुमान छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले आजदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको बताए ।
“नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मै नेपालको पूर्वी क्षेत्रबाट मनुसुन भित्रिएको हो, बाँकी भू-भागमा मनसुन भित्रिन बाँकी छ । अब साता दिनसम्म मनसुन निष्क्रिय हुने देखिएको छ”, उनले भने, “मनसुन भित्रिएकै दिन पूर्वी क्षेत्रमा भएको भारी वर्षाका कारण असर पनि पुर्याएको छ ।”
विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिए । वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उल्लेख गरे ।
“विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । जसमा चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ”, उनले भने ।
कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको महाशाखाको भनाइ छ ।
विभागले मौसमसम्बन्धी सूचनाका लागि ११५५ र बाढीसम्बन्धी सूचनाका लागि ११५५ टोलफ्रि नम्बरमार्फत २४सै घण्टा सेवा दिँदै आएको छ ।






