रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ, अनुसन्धानका लागि धनुषा पठाइयो

काठमाडौं। रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतोलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी अनुसन्धानका लागि धनुषा पठाएको छ। जनकपुरधाम उपमहानगरपालिका–१४ घर भई काठमाडौंको सिफलचौरमा बसोबास गर्दै आएका महतो मंगलबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले पवन महतो पक्राउ परेको पुष्टि गरेका छन्। महतोसँगै उनका बुवा बलराम महतो र अर्का छोरा रमण महतोविरुद्ध पनि ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा जिल्ला अदालत धनुषाले जेठ ६ गते पक्राउ पुर्जी जारी गरेको थियो। बलराम र रमण भने हाल फरार छन्।
मधेस प्रदेश सरकारले दिगहवा–लोखरम सडक निर्माणका लागि रमण कन्स्ट्रक्सन र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रालिसँग संयुक्त रूपमा सम्झौता गरेको थियो। सम्झौताअनुसार एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले झन्डै १८ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी राखेका थिए। साथै, दुईरदुई वटा गरी १ करोड ३४ लाख र १ करोड ३३ लाखको एडभान्स पेमेन्ट ग्यारेन्टी पनि राखिएको थियो।
तर, निर्माण कार्य चलिरहेको क्रममा रमण कन्स्ट्रक्सनले एकपक्षीय रूपमा बैंक ग्यारेन्टी रकम तानेको भन्दै सन्तोकुमार यादवले प्रहरीमा जाहेरी दिएका थिए। आरोपअनुसार रमण महतोको हस्ताक्षरबाट चाबहिलस्थित बैंकको शाखाबाट रकम झिकिएको थियो भने एस एन्ड बी प्रालिलाई यसबारे जानकारी नै दिइएको थिएन।
यसै घटनासँग सम्बन्धित रहेर फरार रहेका पवन महतो काठमाडौंबाट पक्राउ परेका हुन्। काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले पवनलाई मंगलबार पक्राउ गरी अनुसन्धानका लागि धनुषा पठाइएको जानकारी दिएका छन्। उनले अनुसन्धान अब धनुषा प्रहरीले गर्ने भएकाले विस्तृत विवरण त्यहाँबाट आउने बताए।
रमण कन्स्ट्रक्सन काठमाडौंको धरहरा पुनर्निर्माणको ठेक्कामा समेत संलग्न रहेको कम्पनी हो, जसले विगतमा पनि पटक–पटक विभिन्न विवादमा तानिदै आएको छ।






