१७ मिनेटमै १५ जोडीको दाइजोमुक्त विवाह

जनकपुरधाम। दाइजो प्रथालाई चुनौती दिँदै धनुषाको सतलोक आश्रममा १५ जोडीले एकै मञ्चमा दाइजोमुक्त आदर्श विवाह गरेका छन्। सतलोक आश्रमले आयोजना गरेको ६२८औँ कबीर प्रकट दिवसको अवसरमा उक्त विवाह सम्पन्न भएको हो।
मिथिला नगरपालिका–२ स्थित बेलाचापीको सतलोक आश्रममा सोमवारदेखि सुरु भएको तीन दिवसीय महोत्सवको क्रममा ९ जोडी नेपाली र ६ जोडी भारत (बिहार) का युवा–युवतीले सामूहिक रूपमा अन्तरजातीय तथा दाइजोमुक्त विवाह गरे। आश्रमले दिएको जानकारी अनुसार विवाहको रमैणी (गुरुवाणी) पद्धतिअनुसार मात्र १७ मिनेटमै सम्पूर्ण वैवाहिक प्रक्रिया पूरा गरिएको छ।
रमैणी विवाह पद्धतिलाई धार्मिक, सामाजिक र आध्यात्मिक दृष्टिले आदर्श मानिन्छ, जसमा दाइजो, जातिय भेदभाव वा अन्य कुनै सामाजिक बाध्यताको स्थान हुँदैन। मधेस प्रदेशमा दाइजो प्रथाको प्रभाव गहिरो भएतापनि सतलोक आश्रमले यसलाई चुनौती दिँदै निरन्तर यस्ता आदर्श विवाहको आयोजना गरिरहेको छ। यसले गर्दा भारतबाट पनि धेरै युवा र अभिभावकहरू आकर्षित भएर यस कार्यक्रममा सहभागी हुँदै आएका छन्।
“हामी अभिभावकहरूको सहमति र उपस्थितिमा मात्र विवाह गराउँछौं। यो पद्धति सरल, धार्मिक र समाज सुधारमूलक छ। यसले दाइजो विरुद्ध जागरूकता फैलाउन मद्दत गर्छ।“, आश्रमका प्रतिनिधिले बताए।
यसैै अवसरमा आश्रममा विभिन्न धार्मिक, सामाजिक र सेवामूलक कार्यक्रमहरू समेत आयोजना गरिएको छ। तीन दिने महोत्सवमा सन्त गरीबदास जी महाराजको अमरवाणीको अखण्ड पाठ, निःशुल्क भोजन (भण्डारा), रक्तदान शिविर तथा सत्संग समारोह सम्पन्न भएको छ। रक्तदान शिविरमा ६८ युनिटभन्दा बढी रक्त संकलन भएको छ।

नेपालभर दाइजो प्रथाले थपेको सामाजिक समस्यालाई मध्यनजर गर्दै सतलोक आश्रमले गरिरहेको यो पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको आश्रमका प्रतिनिधिले बताए। कार्यक्रममा सहभागी जोडी र अभिभावकहरूले यस्तो विवाह गर्न पाउँदा आफूलाई धन्य मानेका बताए।
यस कार्यक्रममा पर्सा जिल्लाकी उपप्रमुख सुष्मा कुमारी कुशवाहा समेत उपस्थित रहिँदै आश्रमले भविष्यमा यस्ता अभियानहरू विस्तार गर्ने योजना बनाएको बताएका छन्। यसले दाइजोमुक्त समाज निर्माणमा ठूलो भूमिका खेल्ने अपेक्षा छ।
