बलवा नगरपालिकाको बजेट ५२ करोड ९१ लाख

महोत्तरी। बलवा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख राम विजय महतोले बजेट समावेशी, जनउत्तरदायी र दिगो विकासलाई केन्द्रमा राखेर तयार गरिएको बताए।

उप–प्रमुख राम दुलारी ठाकुरद्वारा नगरसभामा प्रस्तुत गरिएको बजेटमा आर्थिक रूपमा आत्मनिर्भर र सामाजिक रूपमा समावेशी समाज निर्माणका लागि कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ। प्रमुख अतिथि प्रदेशसभा सदस्य जैनुल राइनले बलवा नगरपालिकाको बजेटले स्थानीय आवश्यकता सम्बोधन गरेको बताएका थिए।

कुल बजेटमध्ये संघीय सरकारबाट प्राप्त अनुदान मुख्य स्रोत रहेको छ। वित्तीय समानीकरण अनुदानअन्तर्गत ११ करोड ५० लाख, सशर्त अनुदानमा २५ करोड ३१ लाख, विशेष अनुदानमा ६७ लाख, सम्पूरक अनुदानमा १ करोड ६२ लाख र संघीय सरकारबाट राजस्व बाँडफाँड अन्तर्गत १० करोड ८१ लाख ९४ हजार ५७६ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, आन्तरिक आम्दानीबाट २ करोड र स्थानीय तहको राजस्व बाँडफाँडबाट १ करोड रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

खर्चतर्फ चालु खर्चका लागि ३ करोड २८ लाख ५९ हजार ४५७ रुपैयाँ र पूँजीगत खर्चका लागि २० करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

कृषि क्षेत्रमा कृषकलाई प्राविधिक सहयोग, मलबीउ अनुदान, सिँचाइ सुविधा, कृषि यान्त्रीकरण, उत्पादन वृद्धि, युवा कृषक प्रोत्साहन र कृषि बजार पहुँचलाई प्राथमिकतामा राखिएको छ।

शिक्षा क्षेत्रमा शिक्षक तालीम, विद्यालयको भौतिक पूर्वाधार सुधार, छात्रवृत्ति, डिजिटल शिक्षामा जोड र विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा भर्ना गराउने अभियानलाई निरन्तरता दिइनेछ।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकीहरूको स्तरोन्नति, सुरक्षित मातृत्व सेवा, नियमित स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा सरसफाइ र पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रम समावेश गरिएका छन्।

प्रतिक्रिया