धनुषा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जनकपुरधाम । धनुषा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले सोमवार आयोजित एक कार्यक्रमकाबीच ‘खोप नि:शुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ खोपले जीवन रक्षा गर्छ’ भन्ने नाराका साथ धनुषालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप सुनिश्चितता बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले बताए ।

राष्ट्रिय खोप तालिका अनुसार जिल्लाका १८ वटै पालिकाको १६९ वटा वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित जिल्ला घोषणा गरिएको यादवले बताए ।

जिल्लाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिका हुँदै जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला सुनिश्चितता घोषणा गरिएको यादवले जानकारी दिए ।

प्रतिक्रिया