चिकित्सक आन्दोलन रोकियो, सरकार र नेपाल चिकित्सक संघबीच सहमति

काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच सहमति भएपछि देशभरका चिकित्सकले सुरु गरेको आन्दोलन फिर्ता लिएको छ।
संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योग मन्त्री दामोदर भण्डारीको उपस्थितिमा छलफल भएको थियो। छलफलमा नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी थिए।
छलफलपछि दुबै पक्षबीच सहमति जुटेपछि संघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतले पछिल्ला दिनमा चिकित्सकीय लापरबाहीसम्बन्धी मुद्दामा दिएको फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै विरोधस्वरूप सोमबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्दै आन्दोलन थालेको थियो।
संघले उपभोक्ता ऐन र मुलुकी फौजदारी ऐनमा संशोधन गर्नुपर्ने, चिकित्सकीय कार्यमा कानूनी सुरक्षा सुनिश्चित गर्नुपर्ने लगायत माग अघि सारेका थिए।
हालै उपभोक्ता अदालतले ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र सम्बन्धित चिकित्सकलाई १ करोड ४५ लाख, र ग्रान्डी सिटी अस्पतालसहित चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षलाई तिर्नुपर्ने फैसला गरेको थियो।
यी फैसलाप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। सहमतिपछि स्वास्थ्य सेवा पुनः सामान्य बन्दै गएको छ।






