१ अर्ब ३७ करोडभन्दा बढीमा बिक्री भयो ‘बर्किन’को ह्यान्ड ब्याग!

काठमाडौँ । फेसनको क्षेत्रमा सबैभन्दा प्रसिद्ध मानिने बर्किन ब्याग हालसम्मकै धेरै मूल्यमा बिक्री भएको छ ।
बीबीसीका अनुसार गत १० जुलाईमा बर्किन ब्याग ८.६ मिलियन यूरो अर्थात् लगभग १ अर्ब ३७ करोड ९३ लाख २ हजार ४ सय नेपाली रुपैयाँमा निलाम भएको हो ।
कालो लेदरको उक्त ब्याग १९८५ मा फ्रेन्च गायिका जेन बर्किनका लागि बनाइएको थियो । यात्राको क्रममा विमानमा गायिका जेन बर्किन अरमेस (फ्रान्सको एक लग्जरी फेशन ब्रान्ड) का प्रमुखसँगै बसेकी थिइन् । यात्राको क्रममा उनको ब्यागबाट सामान झरेपछि उनले अरमेसलाई सोधिन्, तपाईंको कम्पनीले ठूलो ह्यान्ड ब्याग किन बनाउँदैन ? जेनको उक्त प्रश्न लगतै अरमेसले एक नयाँ डिजाइन तयार पारिदिए ।
१० जुलाईका दिन सोही डिजाइनमा तयार पारिएको प्रोटोटाइप ब्यागलाई जापानको एउटा निजी करेक्टरले पेरिसको अक्सन हाउसमा निलामीमा खरिद गरे ।
ब्यागको इतिहास
एङ्ग्लो–फ्रेन्च गायिका एवं अभिनेत्री जेन बर्किनका लागि उक्त ह्यान्ड ब्याग बनाइएको थियो । त्यतिबेलादेखि नै उक्त ब्याग फेशन जगतको ‘स्टेटस सिम्बल्स’ मा गनणा गर्न थालिएको हो । उक्त ब्यागमा गायिका बर्किनको नाम लेखिएको छ ।
केही बर्किन ब्यागको मूल्य लाखौँ डलरसम्म पनि हुन्छ र त्यसलाई खरिद गर्नका लागि लामो समय प्रतिक्षा गर्नुपर्छ ।
यो ब्याग राख्नेमा केट मस, भिक्टोरिया बेकहम र जेनिफर लोपेज जस्ता अन्तर्राष्ट्रिय कलाकारहरू छन् ।
जेन बर्किनको निधन सन् २०२३ मा ७६ वर्षको उमेरमा भएको हो ।
उनले उक्त ब्याग एक दशक अघिसम्म आफैँसँग राखेकी थिइन् र १९९४ मा एड्स च्यारिटीका लागि आर्थिक सहयोग जुटाउने उदेश्यका साथ निलामीका लागि दान गरिदिइन् ।
पछि पेरिसमा लग्जरी बुटिक चलाउँदै आएकी क्याथरीन बेनियरले उक्त ब्याग खरिद गरिन् । उनले २५ वर्षसम्म उक्त ब्यागलाई सम्हालेर राखिन् र बिहीवार निलामीमा बिक्री गरिदिइन् ।






