आज साउनको पहिलो सोमवार, देशभरका शिवालयमा भक्तजनको भिड

काठमाडौँ । आज साउनको पहिलो सोमवार, देशभरका शिवालयहरुमा भक्तजनको भिड लागेको छ । विशेषगरी पशुपतिनाथ मन्दिरमा बिहान तीन बजेदेखि नै भक्तजनका लागि चार वटै ढोका खुला गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमा गरी व्यवस्था मिलाइएको बताए ।
साउन महिनाको सोमवार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।
साउन महिनामा विशेष पूजाका लागि रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । साउने सोमवारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमवार भगवान् शिवको महिना एवं वार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ । कोषले यस वर्षदेखि साउनको सोमवार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार वटै सोमवार निरन्तर रहने जनाइएको छ ।






