बिरामीका लागि काल बन्दै जनकपुर न्युरो अस्पताल : पैसा आए उपचार, नआएमा तमसुक बनाएर रिफर

जनकपुरधाम । सामाजिक सञ्जालमा यतिबेला एकजना बुबाको चित्कार भाइरल भइरहेको छ । धनुषाको हँसपुर नगरपालिका–६ सोनिगमाका शम्भु साहले आफ्नो फेसबुकमा पोष्ट गरेको उक्त भिडियो (बिहीवार) सम्म १२ लाख मानिसले हेरिसकेका छन् । उनले भिडियोमा छोरा आयुषको शव एम्बुलेन्समा राखेर जनकपुरको न्यूरो अस्पतालले जन–धन दुबै लुटेको भन्दै बिलौना गरिरहेका छन् । अस्पतालले पैसा हुँदासम्म आफूलाई उपचारको नाममा लुटेको र पैसा तिर्न नसकेपछि रेफरको बहानामा बिरामी मारेको भन्दै कसैलाई पनि जनकपुरको न्यूरो अस्पतालमा नजान अनुनय पनि गरिरहेका छन् ।
गत माघ १९ गते शम्भुका १६ वर्षिय छोरा आयुष कुमार साह मोटरसाइकल दुर्घटनामा परे । दुर्घटनामा परी घाइते भएका आयुषलाई जनकपुरधामको न्यूरो अस्पतालमा उपचारका लागि ल्याइयो । अस्पतालले दुई महिनासम्म उपचार गर्यो । तर, आयुषको स्थितिमा सुधार हुनुको साटो झन् झन बिग्रिदै गयो । त्यतिञ्जेलसम्म अस्पतालले आयुषका बुबा शम्भु साहसँग आठ लाख रकम लिइसकेको थियो ।
छोराको उपचारमा खर्च भएको रकम अनुसार स्वास्थ्यमा कुनै उपलब्धी हुन नसकेको देख्दा शम्भुलाई थप पैसा दिन समस्या हुन थाल्यो । ‘अस्पतालले मलाई ठगिरहेको छ जस्तो भान भयो,’शम्भुले भने,‘मैले सुधार नभए पैसा नदिने भने । अनी उनीहरुले रेफर गर्ने तयारी गर्यो ।’ पैसा नआउने देखेपछि अस्पतालले बलपुर्वक चेक र तमसुक बनाएर छोरालाई रेफर गरेको शम्भुुको आरोप छ ।
काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पनि आयुषको झन्डै दुई महिना उपचार भयो । गत जेठ २२ मा ट्रमा सेन्टरबाट घर फर्केका आयुषको साउन २ मा मृत्यु भयो । शम्भुका अनुसार ट्रमाका चिकित्सकहरुले केस पहिला नै बिग्रिसकेको हुनाले बचाउन गाह्रो भएको जवाफ दिएका थिए ।
‘ब्रेन खोलेर मिस्टेक गरेको छ । केस पहिला नै बिग्रिसकेको छ । समयमा आएको भए ठिक हुन्थ्यो,’शम्भुले ट्रमाका चिकित्सकको कुरा उद्धृत गर्दै भने । आर्थिक अवस्था कमजोर रहेको र भएको सम्पत्ती पनि बिक्री गरेर छोराको उपचार गराएको हुँदा शम्भु अर्को अस्पताल जान चाहेनन् ।
शम्भुकी श्रिमती रिंकु देवी साहले अस्तालले खराब नियत राखेर उपचार गरेको आरोप लगाइन् । आठ लाख नगद तिरिसकेका हामीसँग अस्पतालले एक लाख ९० हजारको चेक औषधि वापत र अन्य पाँच लाख २६ हजारको चेक उपचारबापत लिएको उनले सुनाइन् । साथै अस्पतालले सात लाख १६ हजारको तमसुक पनि अस्पतालले बलपूर्वक बनाएको उनको आरोप छ ।
शम्भु मात्रै नभई धनुषाको शहीदनगर नगरपालिका–५ विर्ताका चन्देश्वर कापर पनि जनकपुरको न्यूरो अस्पतालबाट पीडित छन् । उनको २२ वर्षीय छोरा जीवन कापरको पनि त्यही अस्पतालमा राखेर दुई महिना उपचार भयो । चन्देशवरसँग पनि अस्पतालले उपचारबापत आठ लाख लियो । तर, छोराको स्वास्थ्यमा सुधार हुन नसक्दा गत असार २७ गते मृत्यु भयो । चन्देश्वरले पनि न्युरो र त्यहाँ कार्यरत डाक्टरहरु लुटेरा रहेको आरोप लगाए । ‘चार कट्ठा जमीन बिक्री गरेर अस्पताललाई बुझाए । फेरि गाउँबाट चन्दा संकलन गरेर दिए,’उनले भने,‘तर, पनि डाक्टरहरुले छोरालाई बचाउन सकेनन् ।’ छोरालाई बेहोस बनाइ–बनाइ पैसा लुटेको उनको आरोप छ ।
महोत्तरीको औरही नगरपालिका–४ का रञ्जित कुमार रामको परिवार पनि जनकपुर न्यूरो अस्पतालबाट पीडित छन् । रञ्जितको श्रीमती संगिता कुमारी रामले श्रीमान् रञ्जितको न्यूरोमा एक महिना उपचार गराएको बताइन् । त्यस अवधिमा १५ लाख ९० हजार रुपैयाँ बुझाएको उनको दावी छ । तर, अस्पतालकै लापरवाहीले श्रीमानको ज्यान गएको उनले सुनाइन् । ‘सात दिनको उपचारपछि परिवारका सबैसँग कुराकानी गर्नुभयो । भिडियो कलमा पनि कुराकानी गर्नुहुन्थ्यो,’उनले स्मरण गर्दै भनिन्,‘हिँडडुल गर्न थाल्नुभयो । त्यसपछि अचानक उनी बिरामी हुन थाले । डाक्टरहरुले उनलाई बद्मासी गरेको भन्दै बेहोस बनाएर पैसा लुट्न थाले ।’ बिरामीले बदमासी गर्यो भनेर अस्पतालले बेहोसको सुई दिएको परिवारलाई जानकारी गराएको उनले सुनाइन् । काठमाडौँका चिकित्सकले पनि जनकपुरकै न्युरो अस्पतालको कमजोरीले मृत्यु भएको बताएको उनले भनिन् ।
आयुष, जीवन र रञ्जित उपचारको क्रममा जनकपुरको न्यूरोमा मृत्यु हुने प्रतिनिधिमुलक घटना मात्र हुन् । कैयन परिवार शोकमा गएपछि घटना बाहिर आउँदैनन् भने कैयन घटना अस्पतालले नै दबाउने गरेको छ । तीनैमध्येका केही घटना अहिले मिडियामा आएपछि अस्पताल प्रशासनले गत मंगलवार पत्रकार सम्मेलन गरेको थियो । अस्पतालका चिकित्सक न्यूरो सर्जन डा.विजय राउतले अस्पतालले बेस्ट सेवा दिइरहेको दावी गरे । ‘बेस्ट टिम, बेस्ट मेसिन राखेर उपचार गर्छौं,’उनले भने,‘अमेरिकामा हुने उपचार पनि यस्तै हो हामीले पनि त्यही गरिरहेका छौं ।’
‘हामीले उपचार गरेको बिरामीको मृत्यु मेरो अस्पतालमा भएको छैनन् । यहाँबाट लगिसकेपछि मृत्यु भएको चिकित्सक राउतले नागरिकमिररसँग भने’ हामीले सबै कुरा पत्रकार सम्मेलन गरेर भनिसकेका छौं, अझै केही बुझ्नु छ भने चिकित्सकलाई लिएर मृतकको घरमा गाएर बुझ्नुस । फोन गरेर ह्रास गर्ने काम नगर्नुस् ।’
मृतक आयुषका बुवा शम्भुले न्यूरो अस्पतालमा २०/२२ लाखा रुपैयाँ नबुझाएको दाबी अस्पताल प्रशासनले गरेको छ । अस्पताल प्रशासनका अनुसार शम्भुले ३ लाख नगद र पाँच लाखको चेक मात्रै दिएका छन् ।






