गाउँघरमा पानीको हाहाकार, जनप्रतिनिधिहरू बेपत्ता

यस वर्षको मनसुनको प्रभाव मधेशमा कुनै प्रभाव परेको छैन भनेर भन्दा फरक नपर्ला । मनसुन कस्तो हुन्छ भनेर यस वर्ष मधेशका नागरिकले अनुभव नै गर्न सकेका छैनन् । जसको प्रत्यक्ष असर मधेशका प्रत्यक्ष क्षेत्रमा देख्न सकिन्छ ।
गाउँघरमा मात्रै होइन सहरी क्षेत्रमा पनि एक लोटा (अम्खरा) पानीका लागि हाहाकार मचेको छ । मैसमले सर्वसाधारणलाई पानीका लागि यतिसम्म तर्साएको छ की पानीको जोहो गर्ने कसरी भन्ने कुनै टुङ्गो छैन ।
सर्वसाधारण मात्रै होइन गर्मीले सताइरहेका किसान, पशुपालक, बालबालिका, नदीनाला, वनजङ्गल, खेतबारी सबै पीडित छन् । खेत सुकिसकेका छन्, पशु प्यासले छटपटाइरहेका छन् भने सर्वसाधारण पानीको जोहोमा भौतारिरहेका छन् । तर जनतासँगैको साथीको रुपमा हुनुपर्ने जनप्रतिनिधिहरूको अत्तोपत्तो छैन । चुनावी समयमा गाउँगाउँ घुम्ने नेताहरू अहिले बेपत्ता छन् वा भनौँ उनीहरूलाई आफ्ना मतदातासँग कुनै मतलब छैन ।
सङ्घीयता पछि सिंहदरबार गाउँमै आइपुग्छ भनेर ठूलो सपना देखाइएको थियो । तर, जनता अहिले पानीका लागि तर्सिरहेका बेला त्यो सिंहदरबार कहाँ छ भन्ने पत्तो कसैलाई छैन । सिंहदरवार गाउँमै छ भन्ने कुरा भ्रमजस्तै लाग्न थालेको छ ।
चुरे क्षेत्रको संरक्षणका लागि हरेक वर्ष करोडौं बजेट छुट्याइए पनि त्यसको प्रभाव गाउँमा अनुभूति हुन सकेको छैन । बजेट नेताको जोगी र कर्मचारीको भत्ता बनिरहँदा जनता भने पानी खोज्दै भौंतारिरहेका छन् ।
एक समय यस्तो पनि थियो, जब गाउँका प्रत्येक टोलमा इनार र पोखरी अनिवार्यजस्तै थियो । ती इनार र पोखरीले वर्षभरिका लागि पानीको आवश्यकता पुरा गर्थ्यो । बाजेबराजुले बनाएका ती संरचनाले पानीको अभाव महसुस हुन दिँदैनथिए । आज भने ती सम्पदाहरू लोप हुँदै गएका छन् । कतै बेचिएका छन्, कतै फोहर बनेर छाडिएका छन् । नयाँ पुस्ता ‘स्विमिङ्ग पुल जस्ता स्थानमा रमाउन पुग्छन्, तस्बिर खिच्छन्, समाजसेवी कहलिन्छन् । तर आफ्नै गाउँको पोखरी संरक्षणमा उनीहरूको चासो छैन ।
“पोखरीमा नुहाउने, इनारको पानी पिउने हाम्रो संस्कार हराउँदै गएको छ, आजका नेताले चुरे संरक्षणको नाममा फाइदा मात्र लिएका छन्, तर परिणाम शून्य छ ।”
गाउँमा इनार पोखरी मासिएसँगै भूमिगत जलस्रोतको रिचार्ज पनि बन्द भएको छ । वर्षात्मा पानी बगेर जान्छ, जमिनमा भिज्न पाउँदैन । वातावरणीय सन्तुलन गुम्दैछ, किसानको जीवन कष्टकर बन्दैछ ।
अब प्रश्न उठ्छ —यो समस्याको आवाज कसले उठाउने? गाउँघरका आवाज सञ्चारमाध्यममा पुग्दैनन्, राजधानीमा तिनको सुनुवाइ हुँदैन । जबसम्म स्थानीय सरकार, सङ्घीय सरकार र स्वयं नागरिक सचेत हुँदैनन्, तबसम्म यस्तो हाहाकार प्रत्येक वर्ष दोहोरिरहनेछ ।
समस्या पानीको हो, तर जरामा दूरदृष्टि अभाव, संरक्षणको कमी र राजनीतिक उपेक्षा छ । अब समय आएको छ, समुदायले आफैं मिलेर इनार, पोखरी र परम्परागत जलस्रोत जोगाउने पहल थाल्नु पर्छ । अन्यथा आज मधेश पानी बिना काकाकुल हुँदा भोलि त्यसको असर केन्द्रदेखि अन्य क्षेत्रमा पनि त्यसको प्रभाव देखिन बेर लाग्दैन ।






