क्षिरेश्वरनाथको आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन तयार, भोलि मेयरले उद्घाटन गर्दै

जनकपुरधाम । बहुप्रतिक्षित धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन तयार भएको छ। योसँगै नगरपालिका अब आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा दिन अन्तिम तयारीमा जुटेको छ।
नगरपालिकाले वडा नम्बर ५ मा करिब ९ कट्ठा जग्गामा निर्माण गरेको सुविधासम्पन्न भवनबाट बुधवार(भोलि) बाट सेवा दिने भएको छ। भोलि बिहान ८ बजे नगरप्रमुख सुकदेव यादवले उद्घाटन गरेसँगै यहाँबाट सेवा प्रवाह हुने भएको छ।
भवन उद्घाटनपछि मेयर यादवले नगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। दिउँसो ३ बजे ज्येष्ठ नागरिकलाई सम्मान गरिने र प्रसाद वितरण गरिने कार्यक्रम रहेको प्रशासकीय अधिकृत अजयकुमार यादवले जानकारी दिएको छ।
जनप्रतिनिधि आउनु अगाडि नै निर्माण प्रक्रिया सुरु भएको यो भवन बुधबारदेखि औपचारिक रुपमा प्रयोगमा ल्याइदैछ। नगरप्रमुख यादवले नवनिर्मित भवनबाट सेवा प्रवाह शुरु भएपछि नगरवासीलाई अझ सहज, छरितो र प्रभावकारी सेवा दिन सकिने विश्वास व्यक्त गरेका छन्।






