आजबाट विश्व स्तनपान सप्ताह सुरु, स्तनपानबारे आमाले जान्नैपर्ने केही तरिकाहरू…

काठमाडौँ । आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ । ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ’ मूल नाराका साथ यसवर्षको विश्व स्तनपान सप्ताह मनाइँदैछ । स्तनपान सप्ताहलाई विश्वव्यापी रूपमा सन् १९९२ देखि हरेक वर्ष अगस्त महिनाको १ देखि ७ तारिखसम्म मनाउन सुरु गरिएको हो ।

शिशु जन्मनासाथ आमाले आफ्नै दूध चुसाउन सुरु गरी कम्तीमा दुई वर्षसम्म नछुटाइकन चुसाउनुलाई नै स्तनपान भनिन्छ । जन्मेको एक घण्टाभित्रै आमाको बिगौती दूध ख्वाउनु र मागेअनुसार खान पाउने गरी आफ्नै स्तन चुसाउनु नै स्तनपान हो। २४सै घण्टा शिशुले खान चाहेअनुसार तथा आमालाई महसुस वा चाहना भएसम्म कम्तीमा छ महिनासम्म आमाको दूध मात्र चुसाउनुलाई ‘प्रचुर मात्रामा स्तनपान’ भनिन्छ । सन् २०१६ देखि विश्व स्तनपान सप्ताह र दिगो विकास लक्ष्यको सहकार्य सुरु भयो र सन् २०१८ मा विश्व स्वास्थ्य सङ्घीय साधारण सभाले विश्व स्तनपान सप्ताहलाई स्तनपान प्रवर्धन महत्त्वपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको हो ।

विश्वभरका पाँच जना बालबालिकामध्ये तीन जनाले जन्मेको एक घण्टाभित्र स्तनपान गर्न पाएका छैनन् भने ४० प्रतिशत शिशुले मात्र छ महिनासम्म र प्रचुर मात्रामा स्तनपान गर्न पाउँछन्। स्तनपानको प्रभावकारी प्रवर्धन गरेमा जन्मेदेखि २३ महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाउने र हरेक वर्ष विश्वभरका पाँच वर्षमुनिका कम्तीमा नौ लाखजति बालबालिकालाई बचाउन सकिन्छ।

स्तनपान बच्चाको लागि अमृत समान हो । बच्चा जन्मेको बढीमा १ घण्टाभित्र स्तनपान गराई हाल्नुपर्छ । बच्चा जन्मनासाथ तुरुन्त स्तनपान नगराएमा दूध भित्रभित्रै गान्निएर कडा हुन गई स्तनपान गराउन नसक्ने अवस्था आउन सक्ने चिकित्सकहरू बताउँछन् । त्यसैले बच्चा जन्मनासाथ तुरुन्त स्तनपान गराई हाल्न पनि चिकित्सकहरूले सुझाव दिने गरेका छन् ।

आमाको दूध प्राकृतिक हुने भएकाले यसमा बालबालिका हुर्कनलाई चाहिने सबै किसिमको पोषण तत्वहरू ठीक मात्रामा हुन्छ । आमाको दूधमा प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेट लगायत भिटामिन डी, सी, ई र ए जस्ता तत्वहरू पनि पर्याप्त मात्रामा पाइन्छ ।

आमाको दूध नियमित खुवाइएका शिशुहरू स्वास्थ्य एवम् हृष्टपुष्ट हुन्छन् । त्यसकारण नवजात शिशुलाई ६ महिनासम्म नछुटाइकन दूध खुवाउनु अत्यन्तै जरुरी छ । कहिलेकाहीँ स्तन कडा बन्दै गई दुख्ने, दूध नआउने, बच्चाले चुस्न नसक्नेजस्ता कारणले पनि शिशुहरू स्तनपान गर्नबाट वञ्चिन रहन्छन् ।

स्तनपानले शिशुका लागि मात्र नभएर आमाको स्वास्थ्यमा पनि निकै फाइदा पुग्ने विज्ञहरूको भनाइ छ । स्तनपान गराउन ढिला भएमा आमाको दूध गान्निन पुगी भित्रभित्रै पाकेर चिर्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले यस्तो समस्या देख्ने वित्तिकै सम्बन्धित चिकित्सक कहाँ जचाउन गइहाल्नुपर्छ । कतिपय अवस्थामा बच्चाले खाएर बाँकी रहेको दूध पनि भित्रभित्रै गान्निन सक्छ । त्यसैले बच्चाले चुसेपश्चात बाँकी रहेको दूध तानेर फालिदिने गर्नुपर्दछ या फ्रिजमा राखेर तताई खुवाउन पनि सकिन्छ ।

कहिलेकाहीँ आमाको स्तन निकै कडा भएर स्तनपान गराउन नसक्ने अवस्थामा आए घरमै तातोले हल्कारूपमा सेक्नुपर्ने बालरोग विशेषज्ञ डा. ओम पाठक बताउँछन् । यसरी सेक्दै गएमा विस्तारै स्तन नरम हुँदै जान्छ र दूध निस्कन सहयोग पुग्ने उनको भनाइ छ ।

उनि भन्छन्, ‘यदि स्तन धेरै कडा भएमा दुवै साइडतिर छुट्टछुट्टै कपडाले हल्का बाधिदिनुपर्छ, जसले गर्दा छेउछेउबाट स्तनलाई हल्का बल पुगी भित्र गान्निएको दूध बाहिर निस्कन मद्दत पुग्छ ।’

स्तनपान गराउनका लागि आमा शारीरिक एवम् मानसिकरूपले तन्दुरुस्त हुनु जरुरी छ । यसका लागि आमाले गर्भावस्थादेखि नै पौष्टिक आहार दूध, घ्यू, गेडागुडी, माछामासु, फलफूल, हरिया सागपात तथा झोलीय खानेकुरा खानुपर्दछ । सुत्केरी अवस्थामा घरमै बनाएर खुवाइने घरेलु औषधि खानेकुराको पनि उत्तिकै महत्व छ त्यसैले त्यस्ता खानामा बढी जोड दिनुपर्दछ ।

हिजोआज कतिपय आमाहरू स्तनपान गराएमा आमाको सुन्दरतामा ह्रास आउने, तौल बट्ने, स्तनको आकार बिग्रिनेजस्ता भ्रमका कारण आफ्नो दूधको सट्टा बजारमा पाइने कृत्रिम दूध खुवाउने परम्परा जस्तै बन्दै गएको पाइन्छ ।

कृत्रिम दूध बोतलबाट खुवाउँदा बच्चालाई सङ्क्रमण भई झाडाबान्ता, निमोनिया, आउँजस्ता रोग लाग्नुका साथै कुपोषण पनि हुनसक्छ । विस्तारै बच्चाको स्वास्थ्य बिग्रदै गई आँखा कमजोर हुने, बौद्धिक क्षमताको विकासमा बाधा पुग्नेजस्ता लक्षणहरू देखापर्दछन् । स्तनपानले आमा र बच्चाको सम्बन्धमा सुमधुरतासमेत प्रदान गर्दछ ।

६ महिनासम्म निरन्तर स्तनपान गराएमा शिशुको स्वास्थ्य राम्रो बन्छ । ६ महिना पश्चात अन्य खानेकुारको आवाश्यक्ता पर्ने भएपनि ६ महिनासम्म शिशुको पोषण आमाको दूधमा भरपर्दछ । स्तनपानले शिशुलाई मात्र नभएर आमालाई पनि फाइदा पुग्छ । स्तनपान गराउने महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने संभावना कम हुन्छ ।

स्तनपान गराउने केही तरिकाबारे जानौँः
सकेसम्म आमाले निहुरिएर स्तनपान गराउनु हुँदैन । यसरी स्तनपान गराउँदा बच्चाको कानमा दूध पस्ने सम्भावना हुन्छ। आमाले सुतेर पनि स्तनपान गराउनु हुन्न । सुतेर स्तनपान गराउँदा आमाको स्तनले बच्चाको नाक थुनिएर सास फेर्न गाह्रो भई मृत्युसमेत हुन सक्छ ।

दूध खाइसकेपछि बच्चालाई माथि उठाएर डकार गराउनुपर्दछ । बच्चाले दूधसँगै हावा पनि तान्ने भएकाले डकार गर्दा हावा बाहिर फालिन्छ अनि खाएको दूध स्वच्छ भई बान्ता हुनबाट रोकिन्छ ।

राति सुतेको बेला कतिपय आमाले बच्चाको मुखमा आफ्नो स्तनको निप्पल राखिदिने र त्यतिकै निदाउने गर्छन् । लामो समयसम्म बच्चाको मुखले निप्पल भिजिरहेमा आमाको स्तनमा संक्रमण हुन सक्छ । त्यसैले बच्चाले चुसिसकेपछि निप्पल बाहिर निकालिदिनुपर्छ ।

स्तनभरी घाउ, खटिरा आदि आएमा सोही स्तन निचोरेर दूध लगाइदिएमा औषधिको काम गर्दछ ।

बच्चाको दूध चुस्न नसकेमा स्तनबाट दूध निकालिदिनुपर्छ नत्र त्यही दूध गान्निएर पाक्ने सम्भावना हुन्छ ।

एकपटक बोतलको दूध खुवाउने बानी लागेपछि बच्चा आमाको दूध खान अप्ठ्यारो महसुस गर्दछन् । त्यसैले सकेसम्म बोतलको दूध बच्चालाई नखुवाउने, खुवाउनै पर्ने बाध्यता भएमा चम्चामार्पमार्फत खुवाउने, किनकि बोतलको सरसफाई नपुगेमा बच्चालाई संक्रमण भई विभिन्न रोग लाग्न सक्छ ।

प्रतिक्रिया