गाजामा भोकमरी बन्दैछ मृत्युको कारण, प्रत्येक पाँच बालबालिकामध्ये एकजना कुपोषणको चपेटामा

बीबीसी । सन् २०२३ को अक्टुबरमा प्यालेस्टिनी सैन्य समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अझैँ पनि जारी छ । इजरायलले गाजामा हमासलाई जरैदेखि समाप्त पार्ने रणनीतिका साथ युद्धलाई निरन्तरता दिँदै आएको छ । जसको प्रत्यक्ष र अप्रत्यक्ष असर गाजाका नागरिकमाथि देख्न सकिन्छ ।

युद्धका कारण यतिबेला सबैभन्दा बढी र नराम्रोसँग प्रभावित भनेको गाजाका नागरिक छन् । त्यसमा पनि बालबालिका सबैभन्दा बढी जोखिममा परेका छन् । युद्धका केही नियम हुन्छन्, तर इजरायलले आफ्नो हिसाबले युद्धलाई अघि बढाउँदै गाजाका निर्दोष नागरिकलाई मृत्युको मुखमा धकेलिरहेको छ । जसका कारण गाजामा खाद्यान्न अभाव चरम सीमामा पुगिसकेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनले पनि गाजामा भोकमरी हदैसम्मको जोखिम स्तरमा पुगिसकेको भन्दै चेतावनी दिँदै आएको छ । तर, इजरायलले भने त्यसलाई मान्न सकेको छैन । र, गाजाका नागरिकलाई हमास लडाकुको नाममा गोलीबारी गर्दै मृत्युको शय्यामा पुर्याउने काम गरिरहेको छ ।

संयुक्त राष्ट्र सङ्घको संस्था यूएनआरडब्यूएका अनुसार गाजामा प्रत्येक पाँच बालबालिकामध्ये एकजना कुपोषणको चपेटामा आइसकेका छन् र यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

संयुक्त राष्ट्र सङ्घले अस्पतालमा यस्ता बिरामी भर्ना भइरहेका छन् जो भोकका कारणले निकै कमजोर भइसकेका छन् र कतिपय व्यक्ति सडकमै बेहोस भएर ढल्न थालेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घले अहिलेसम्म गाजामा औपचारिक रुपले अनिकाल घोषणा गरिसकेको छैन । तर, इन्टिग्रेटेड फूड सेक्योरिटी फेज क्लासिफिकेशन (आईपीसी) ले चेतावनी दिँदै भनेको छ, यो क्षेत्र गम्भीर अनिकालको खतरामा रहेको छ ।

अनिकाल के हो र यसलाई कतिबेला घोषणा गरिन्छ?

इन्टिग्रेटेड फूड सेक्योरिटी फेज क्लासिफिकेशन (आईपीसी) एउटा विश्वव्यापी मानक हो । जसको प्रयोग कुनैपनि क्षेत्रको जनसङ्ख्यालाई पर्याप्त, सस्तो र पौष्टिक आहार प्राप्त गर्नमा कति समस्या भोग्नु परिरहेको छ भन्ने आँकलन गर्नका लागि गरिन्छ ।

यसले पाँच चरणका गम्भीरताका आधारमा सम्बन्धित देशले भोगेको खाद्य अभाव वा असुरक्षाको स्थितिलाई वर्गीकरण गर्छ । त्यसको पाँचौँ वा सबैभन्दा खराब स्थिति भनेको अनिकाल हो । अनिकालको स्थिति हुन निम्तलिखित अवस्था हुनुपर्छः

* कम्तीमा २० प्रतिशत घरपरिवारमा खानेकुराको गम्भीर अभाव भएको

* कम्तीमा ३० प्रतिशत बालबालिकामा गम्भीर कुपोषण देखिएको

* गम्भीर भोकमरी वा कुपोषण र रोगको पारस्पारिक प्रभावका कारण प्रति १० हजार मानिसमध्ये दिनहुँ दुई वयस्क वा चार बालबालिकाको मृत्यु हुने गरेको

आईपीसीको १२ मेमा प्रकाशित प्रतिवेदनले गाजाको जनसङ्ख्या (तेस्रो वा त्योभन्दा माथिल्लो चरणको) सङ्कटमा रहेको उल्लेख छ ।

आईपीसीले सन् २०२५ को मेदेखि सेप्टेम्बरबीचमा त्यहाँका करिब ४,६९,५०० मानिसहरूले गम्भीर खाद्य असुरक्षा (पाँचौँ चरण) को सामना गर्नुपर्ने प्रक्षेपण गरेको छ ।

यसप्रकारको सङ्कट उत्पन्न भएमा सामान्यतः राष्ट्रसङ्घले अनिकालको घोषणा गर्छ र कतिपय अवस्थामा सम्बन्धित देशको सरकार तथा प्रायः अन्तर्राष्ट्रिय सहायता सङ्गठन तथा मानवीय निकायहरूसँग मिलेर त्यस्तो घोषणा गरिन्छ ।

भोकमरीको क्रममा शरीरमा के हुन्छ ?

भोकमरी लामो समयसम्म पर्याप्त खाना प्राप्त नहुने कारणले हुन्छ र यसको अर्थ हो शरीरलाई आफ्नो आवश्यकताका लागि पर्याप्त क्यालोरी प्राप्त भइरहेको छैन ।

सामान्यतया शरीरले खानाबाट ग्लुकोज बनाउँछ । तर, जब खाना प्राप्त हुँदैन अनि शरीरले कलेजो र मांसपेशिमा जम्मा भएको ग्लाइकोजनबाट रगतमा ग्लुकोजको मात्रा प्रवाहह गर्न थाल्छ ।

जब ग्लाइकोजन पनि सकिन्छ अनि शरीरले बोसो र त्यसपछि मांसपेशिबाट उर्जा बनाउन थाल्छ ।

भोकमरीले फोक्सो, पेट र प्रजनन् अङ्ग खुम्चिन सक्छ र यसको असर मस्तिष्कमा पनि पर्न सक्छ । जसका कारण हेलुसिनेशन (भ्रम), डिप्रेशन र आत्तिने जस्ता समस्या उत्पन्न हुन्छ ।

केही मानिसहरू भोकमरी हुनासाथ मर्ने गर्छन् भने गम्भीर कुपोषणबाट पीडित व्यक्तिको श्वास वा पाचन प्रणालीमा सङ्क्रमणका कारण मृत्यु हुने गर्छ । किनकी भोकमरीले रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाइदिन्छ ।
भोकमरीको असर फरक–फरक व्यक्तिमा फरक तरिकाले हुन्छ ।

युनाइटेड किङ्गडमको युनिभर्सिटी अफ ग्लासगोमा ह्यूमन न्यूट्रिशनका वरिष्ठ रिसर्च फेलो (अनरेरी) प्रोफेसर शार्लोट राइट भन्छिन्, ‘तपाईं अचानक गम्भीर रुपले कुपोषित भइहाल्नु हुँदैन । ती बच्चामा पहिला नै निमोनिया, दादुरा, झाडापखाला जस्तै कुनै रोगले सङ्क्रमित गरिसकेको हुन्छ ।’

उनी भन्छिन्, ‘जो बालबालिका पहिला स्वस्थ थिए तर, अब भोकमरीको सिकार भइसकेका छन् यदी उनीहरूलाई खाना दिइयो भने तीनमा खाने र पचाउने क्षमता रहन्छ ।’

कुपोषणले बालबालिकालाई कसरी प्रभावित गर्छ?

बच्चामा खाने कुराको कमीले जीवनभरका लागि प्रभाव छा्डन सक्छ । जसमा मस्तिष्कको विकासमा रुकावट र लम्बाई रोकिनु सहभागी छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार, स्टन्टिङ्गको अर्थ हो बच्चामा खराब पोषण, पटक–पटक सङ्क्रमण र पर्याप्त मानसिक देखभालको कमीका कारण विकास र लम्बाईमा रुकावट हुनु । प्रायः यस्ता बच्चा आफ्नो उमेरको हिसाबले होचो देखिन्छन्, जसलाई हामीले पुड्कोपन पनि भनेर बुझ्ने गर्छौ ।

संयुक्त राष्ट्र फाउन्डेशनका अनुसार, जो व्यक्ति कुपोषणबाट पीडित हुन्छन् उनको बच्चा पनि कुपोषित नै जन्मिने सम्भावना बढी हुन्छ ।

युनिसेफका अनुसार गर्भावस्थामा खराब आहार आमामा रक्तअल्पत्ता, प्री–एक्लेम्प्सिया, रक्तस्राव र मृत्युको कारण बन्न सक्छ । साथै बच्चा पनि मृत जन्मिने, कम तौल, शरीर खुम्चिने र विकासमा ढिलाई हुने पनि खतरा हुन्छ ।

कुपोषित आमा आफ्नो बच्चालाई दूध खुवाउनमा असमर्थ हुन्छिन् भने पर्याप्त पौष्टिक दूध बनाउन समस्यासँग जुझिरहन्छिन् ।
डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का डा. नुरुदीन अलीबाबा जो कुपोषित बालबालिकाको उपचार गर्छन् उनी भन्छन्, ‘कुपोषणको असर जीवनभर रहिरहन्छ ।’

डा. अलीबाबा भन्छन्, ‘स्टन्टेड ग्रोथ (रोकिएको वृछि) फिर्ता हुन सक्दैन । अर्थात् कुपोषणको समय सकिए पनि बच्चाको लम्बाई सानै रहन्छ । जसले उसलाई नोक्सानी हुन्छ । प्रायः त्यस्ता बच्चामा सिक्ने क्षमताको पनि कमी रहन्छ ।’
‘कुपोषणले रोग–प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाइदिन्छ । जसले गर्दा छिटो सङ्क्रमण हुने गर्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको छोरी मान्छेमा कुपोषणले बाँझोपनको कारण निम्त्याउन सक्छ । र, यदी त्यस्ता महिला गर्भवती हुन्छिन् भने पनि तीनको बच्चा कमतौल भएको जन्मिने सम्भावना बढी हुन्छ ।’

अर्को भनेको अस्टियोपोरोसिस रोग पनि हुन सक्छ ।

डा. अलीबाबाले थपे, ‘कमजोर हड्डी उमेर बढेपछि झन् कमजोर हुँदै जाने हुन्छ र शरीरको भार पनि राम्रोसँग सम्हाल्न सक्दैन । जसले गर्दा सामान्य चोटले पनि हड्डी भाँचिन सक्छ ।’

भोकमरीको उपचार कसरी गर्ने ?

भोकमरीको संकटबाट उम्किनका लागि दुईवटा कुरा जरुरी छः

१) अत्यधिक मात्रामा खानाको पहुँच हुनु

२) महँगो तर आवश्यक पोषणयुक्त खाद्य पदार्थको उपलब्धता

नवजात शिशुका लागि आमाको दूध सबैभन्दा सुरक्षित र उत्तम विकल्प हो । तर, त्यसका लागि आमालाई पर्याप्त र पोषणयुक्त खाना दिनुपर्छ । जसले गर्दा आमाले आफ्नो शिशुलाई दूध खुवाउन सक्छिन् ।

डा.राइटका अनुसार कुपोषणको निकै गम्भीर असर हुन सक्छ । विशेषगरी बच्चामा र यसको उपचार सँधै सजिलो हुँदैन ।

उनले भनिन्, ‘गम्भीर मामिलामा जब कोही व्यक्ति खाना निल्न सक्दैन भने त्यो अवस्थामा अस्पताल वा क्लिनिकमा विशेष पोषणयुक्त खाना दिनुपर्ने हुन्छ । र, सङ्क्रमणका लागि अतिरिक्त उपचार पनि गर्नुपर्ने हुन सक्छ । केही मामिलामा कसैलाई छिटो वा गलत खाना दिनु भने खतरनाक हुन सक्छ । त्यसकारण खाना मात्रै पुर्याउनु मात्रै ठूलो कुरा होइन । सन्तुलित खाना पुर्याउने र राम्रो स्वास्थ्य व्यवस्था हुनु पनि आवश्यक हुन्छ । ’

प्रतिक्रिया