महिलालाई शसक्त बनाउन दुईदिने अगरवत्ति बनाउने तालिम

जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले महिलाको शसक्तिकरणका लागि अगरवत्ति बनाउने तालिम सम्पन्न गरेको छ ।
समाजले बिहीवार र शुक्रवार आयोजना गरेको उक्त तालिममा आर्थिक रुपले विपन्न २५ जना महिलालाई अगरवत्ती बनाउने तालिम दिइएको हो ।
समाजको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त तालिम वैदेही मल्लिकले निःशुल्क रुपमा प्रशिक्षण दिएकी थिइन् ।

वडा नम्बर २० मा आयोजना गरिएको उक्त तालिममा सहभागी महिलाहरूले बनाएको अगरवत्तिको बजारीकरणका लागि समाज र वडाले सहयोग गर्ने समाजकी जनकपुर अध्यक्ष नूतन कर्णले बताइन् ।
उनका अनुसार महिलाका लागि आयोजित यस्ता तालिमका लागि आगामी दिनमा वडाध्यक्ष मोती राइन कवाडीले बजेट विनियोजन गरेर सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आर्थिक अवस्था कमजोर र विपन्न महिलालाई शसक्त तथा आत्मनिर्भर बनाउने उदेश्यले आगामी दिनमा यस्ता तालिमको आयोजना गर्न समाज अग्रसर रहेको पनि कर्णले बताइन् ।






