जनकपुरधाममा इ–रिक्सा र अटोलाई व्यवस्थित गर्न मेयरलाई ज्ञापनपत्र

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा पछिल्लो समय इ–रिक्सा र अटो रिक्साको अनियन्त्रित तथा अव्यवस्थित सञ्चालनले यात्रु, पर्यटक र सार्वजनिक यातायात व्यवसायमा संलग्न बस व्यवसायीहरूलाई निकै समस्या भइरहेको छ। सोहीलाई मध्यनजर गर्दै माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.ले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ।

संघले दिएको ज्ञापनमा राजमार्ग क्षेत्रभित्र इ–रिक्सा र अटो रिक्साहरूले मापदण्ड तथा ट्राफिक नियमको उल्लंघन गर्दै मनपरी यात्रु ओसार–पसार गरिरहेको उल्लेख छ। यसले ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाउनुका साथै यात्रुहरूलाई असहज बनाएको र बस व्यवसायमा नकारात्मक प्रभाव परेको संघको दाबी छ।

संघका अध्यक्ष मनोज कुमार चौधरीका अनुसार जनकपुरधाममा अनुमति नलिई तथा तोकिएको क्षेत्रभन्दा बाहिर सवारी साधन सञ्चालन भइरहेका छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ। त्यस्तै, ट्राफिक जाम झनै चर्को बन्दै गएको छ।

संघले इ–रिक्सा तथा अटोको सञ्चालनका लागि स्पष्ट कार्यविधि निर्माण गर्न, राजमार्ग क्षेत्रमा यात्रु ओसार–पसारमा रोक लगाउन, र बिना रुट परमिट सवारी साधनको नियन्त्रण तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन माग राखेको छ।

जनकपुरधामको मुख्य सडक तथा ट्राफिक मार्गहरूमा अनियन्त्रित रूपमा सवारी बढ्दो देखिएको हुँदा नगरपालिका गम्भीर नबने अवस्था झन भयावह बन्न सक्ने संघले चेतावनी दिएको छ। व्यवसायीहरूले तत्काल समस्या समाधानका लागि नगर प्रमुखको पहल आवश्यक भएको बताएका छन्।

प्रतिक्रिया