लियोहरुको क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न, नेतृत्व विकासमा जोड

काठमाडौं । लियो जिल्ला परिषद ३२५ एफ नेपालको आयोजनामा एकदिवसीय क्षमता अभिवृद्धि कार्यशाला काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ।

लियो जिल्ला परिषद ३२५ एफ नेपाल २०२५÷२६ का अध्यक्ष लियो आकृति न्यौपानेको अध्यक्षता र लायन्स क्लब ३२५ एफ नेपालका जिल्ला गर्भनर लायन केशवर बहादुर भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यशालामा परिषदअन्तर्गतका विभिन्न लियो क्लबका ५० भन्दा बढी लियो सदस्यहरूको सक्रिय सहभागिता थियो। कार्यक्रममा स्वागत गर्दै जिल्ला अध्यक्ष आकृति न्यौपानेले कार्यशालाको औपचारिक उद्घाटन गर्नुका साथै आगामी वर्षको कार्ययोजना तथा नीति कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

उनले प्रस्तुत गरेको योजनामा नेपाली सांकेतिक भाषाको तालिम, अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक समावेशीकरण, र लियो–लायन्समा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न कार्यक्रम सञ्चालन गरिने उल्लेख थियो।

कार्यक्रममा पूर्व जिल्ला गर्भनर लायन मधुकर उपाध्यायले लियो क्लबका पदाधिकारीको कर्तव्य र अधिकारबारे प्रशिक्षण दिएका थिए। लियो ललन कुमार महतोले अध्यक्ष र उपाध्यक्षको भूमिका तथा नियमावलीबारे जानकारी गराएका थिए।

त्यस्तै, क्लब नीति निर्माण, एजेण्डा तय गर्ने प्रक्रिया र मूल्यांकन सीट तयार गर्नेबारे उपाध्यक्ष लियो आकाश साहले प्रशिक्षण दिएका थिए भने, सचिवीय कामको जिम्मेवारी र कार्यप्रणालीबारे जिल्ला सचिव लियो अमिसा नेपालले प्रस्तुति दिएकी थिइन्। कोष सम्बन्धी जिम्मेवारी र व्यवस्थापनबारे जिल्ला कोषाध्यक्ष लियो अभिनास मल्लिकले मार्गदर्शन गरेका थिए।

कार्यक्रमका प्रमुख प्रशिक्षक राजन कोइरालाले प्रविधिमा मात्र होइन, व्यक्तिगत क्षमता र कर्ममा विश्वास राख्नुपर्नेमा जोड दिए। उनले लिडरशिप इन्टेलिजेन्सलाई आर्टिफिसियल इन्टेलिजेन्सभन्दा महत्वपूर्ण मान्दै सहकार्यमा आधारित नेतृत्व विकासलाई प्राथमिकता दिन आग्रह गरे।

कार्यक्रमका सल्लाहकार लियो–लायन दिपेश भट्टराईले लियोहरूलाई आत्मनिर्भर र सक्षम बनेर सामाजिक सेवामा लाग्न सुझाव दिए। विशिष्ट अतिथि लायन डा. राजेन्द्र गिरीले “थोरै काम गर तर प्रभावकारी गर” भन्ने सन्देश दिँदै लियो तथा लायन्स क्लबको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभावबारे चर्चा गरे।

त्यस्तै, दोस्रो जिल्ला गर्भनर लायन मनोज कुमार सापकोटाले लियो र लायन्स क्लबले नेपालमा सामाजिक कार्यमा उल्लेखनीय उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार सहयोगको प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागीहरूलाई संस्थाको नाम उल्लेखित टिसर्ट, डायरी, सर्टिफिकेट तथा मनोनीत सदस्यहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

अध्यक्ष आकृति न्यौपानेले कार्यशालामा सक्रिय सहभागिता जनाएबापत सबै लियो सदस्यलाई बधाई र शुभकामना दिँदै कार्यक्रम विधिवत रूपमा समापन गरिन्।

प्रतिक्रिया