पार्टीविरोधी गतिविधि गरेको भन्दै जनमत पार्टीबाट दीपक साह निष्कासित

काठमाडौं । जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले सुनसरी निवासी दीपक कुमार साहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पूर्ण रूपमा निष्कासन गरेको छ। यसअघि छ महिनाका लागि निलम्बन गरिएका साहले निलम्बनको अवधिमा पनि पार्टीविरोधी गतिविधि जारी राखेकाले उनलाई निष्कासन गरिएको जनमत पार्टीले जनाएको छ।
पार्टीको नीति, विधान र नेतृत्वको अवज्ञा गर्दै साहले अनुशासनविपरीत कार्यहरू गर्दै आएको, पार्टी निर्णयको पालना नगरेको र बारम्बार पार्टीविरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दै कारबाही गरिएको हो। पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक ई. नरेन्द्र प्रसाद चौधरी र समिति सचिव अनिता कुमारी मण्डलको हस्ताक्षर भएको पत्रअनुसार, २०७९ साल चैत ११ गते साहलाई स्पष्टिकरण सोधिएको थियो। तर उनले समयमै र स्पष्ट रूपमा जवाफ नदिएको र त्यसपछिसमेत अनुशासनहीन गतिविधि दोहोर्याएको उल्लेख छ।
साहले पार्टीका बैठक र निर्णयहरूमा अनुपस्थित रहने, पार्टीविरोधी भेलाहरू आयोजना गर्ने, सार्वजनिक रूपमा पार्टी नीति विपरीत अभिव्यक्ति दिने, पार्टी निर्णयविपरीत कार्यक्रम र आन्दोलनमा सहभागी हुने र पार्टीको नाम, छाप र ब्यानर प्रयोग गरी अवैध रूपमा कार्यक्रम सञ्चालन गर्ने जस्ता गतिविधि गर्दै आएको जनाइएको छ।
निलम्बनपछिसमेत उनले पार्टीको नाम र सामग्री प्रयोग गरी कार्यक्रम गर्नुका साथै विभिन्न स्थानहरूमा पार्टीविरोधी नाराबाजी गर्दै आएको भन्दै पार्टीले यस्तो कार्यलाई संगठनको नियम र अनुशासनको गम्भीर उल्लंघन मानेको छ। साहका गतिविधिले पार्टीको आन्तरिक एकता, अनुशासन र साखमा प्रतिकूल असर पार्ने देखिएको भन्दै उनलाई पूर्ण रूपमा निष्कासन गरिएको जनाइएको छ।






