जनताको हितमा काम नगर्ने वडा सदस्यहरुले सेवासुविधा फिर्ता गर्नुपर्छ : मेयर डा यादव

सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले जनताको हितमा काम नगर्ने वडा सदस्यहरुले सेवा सुविधा फिर्ता गर्नुपर्ने बताएका छन् ।

सिरहा नगरपालिकाको ९औं नगरसभाको समापन समारोहमा बोल्दै मेयर डा यादवले वडा सदस्यहरुले जनताको पक्षमा काम गर्न नचाहेको र सेवा सृुविधामा वढी ध्यान दिएको बताएका छन् । आआफ्नो वडामा एउटा सिन्को नभाँच्ने वडा सदस्यहरुले नगरपालिका विरुद्ध भाषण गर्ने गरेको भन्दै मेयर डा यादवले पहिले वडामा सरसफाई लगायतका काम गरेर देखाउनु पर्ने अनि मात्र आलोचना गर्न मिल्ने बताएका छन् ।

प्रध्यानाध्यापकहरुले जिम्मेवारी बुझेन्

मेयर डा यादवले सिरहा नगरपालिका क्षेत्रमा रहेको सामुदायिक विद्यालयका प्रध्यानाध्यापक र शिक्षकहरुले आफ्नो जिम्मेवारी नबुझेको बताएका छन् । नगरसभामा बोल्दै मेयर डा यादवले विद्यालयको शिक्षा सुधार गर्न शिक्षकहरुले नै भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । प्रअ र शिक्षकहरुले आफ्नो जिम्मेवारी बुझ्दै विद्यालयको शिक्षा स्तरलाई उकास्न भूमिका खेल्नुपर्ने भन्दै डा यादवले नगरको शिक्षा क्षेत्रमा गुणात्मक सुधार गर्न शिक्षकहरुले नै अग्रसरता लिनुपर्ने बताएका छन् ।

भ्रष्टाचार हुन दिईने छैन्

नगरसभामा मेयर डा यादवले कम बजेटले धेरै काम गर्नुपरेको भन्दै आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाएको बताएका छन् । आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने मेयर डा यादवले दावी गरेका छन् । सिरहा नगरक्षेत्र भित्रका सवै शाखाहरुले आआफ्नो जिम्मेवारी वहन गर्दै काम गर्नुपर्ने मेयर डा यादवले बताएका छन् ।

सिरहा नगरपालिकाको सभाहलमा विहिवार नगरसभाको आयोजना गरेको थियो । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवको अध्यक्षतामा उद्घाटन भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत मो. इन्द्रिश राईनले स्वागत मन्त्वय राखेका थिए । चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट उपमेयर वविता कुमारी साहले प्रस्तुत गरेकी थिईन् ।

करिब डेढ महिना पछि सिरहा नगरपालिकाले नगरसभा सम्पन्न गरेको हो । असार १० गतेभित्र नै नगरसभा गर्नुपर्ने कानूनी प्राबधान भएपनि सिरहा नगरपालिकाले ढिला गरी नगरसभा सम्पन्न गरेको हो । नगरसभाले चालू आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्ब ३ करोड २५ लाख ६७ हजार ६ सय रुपैयाँको आयव्यय सार्वजनिक गरेको छ । नगरसभाले २२ वटै वडालाई ५०/५० लाख रुपैयाँको बजेटको सिलिङ दिएको छ ।

नगरसभामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, विभिन्न शाखाका कर्मचारी, शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया