‘जनकधाम योजना’ बारे जानकारी दिन प्रधानमन्त्रीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई रैथाने गाई संरक्षणका लागि अगाडि बढाइएको ‘जनकधाम योजना’ बारे जानकारी दिइएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा जनकधामका संस्थापक वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कौशलेन्द्र झालगायत उहाँको टोलीले प्रधानमन्त्री ओलीलाई जनकधामको उद्देश्य, योजना र परिकल्पनाबारे जानकारी दिको हो । त्यसक्रममा झाले रैथाने गौआधारित कृषि प्रणाली, रोजगारी सिर्जना, प्राकृतिक जीवनशैली एवं पञ्चगव्य उत्पादनमार्फत मानव स्वास्थ्यमा गर्न सकिने सकारात्मक हस्तक्षेपबारे जनकधामको परिकल्पना गरिएको बताएको थियो ।
“स्वास्थ्य, आयुर्वेद, प्राकृतिक कृषि तथा परम्परागत ज्ञानमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै राष्ट्र निर्माणको साझेदार बन्ने लक्ष्यसहित हामीले एक महत्त्वकांक्षी परियोजना प्रारम्भ गरेका छौँ । यसका लागि मास्टरप्लानसहित धनुषामा २० बिघा क्षेत्रफलमा परियोजना कार्यान्वयन गरिरहेका छौँ”, संस्थापक झाले भने,“यसमार्फत केवल उत्पादनमा सीमित रहने होइन, जीवनशैलीमा परिवर्तन ल्याउने, सोचाइमा देशप्रेमको भावना जागृत गराउने र स्वास्थ्य, कृषि तथा संस्कृतिलाई एकीकृत गर्दै राष्ट्रिय विकासमा योगदान दिने हाम्रो लक्ष्य छ ।”
परियोजनाको मुख्य उद्देश्यमा देशी गाई संरक्षणका लागि नमुना गौशाला स्थापना, प्राकृतिक कृषि, गौआधारित पञ्चगव्य उत्पादन, जैविक मल, बायोग्यास प्लान्ट र प्राकृतिक कीटनाशक उत्पादन केन्द्र स्थापना गर्ने काम भइरहेको जानकारी दिइयो । यस्तै, स्वास्थ्य र सांस्कृतिक पर्यटन केन्द्र, जडीबुटीखेती तथा प्रशोधन, वनस्पति उद्यान, वैकल्पिक चिकित्सा (आयुर्वेद) अस्पताल र प्राकृतिक चिकित्सा केन्द्र, योग, ध्यान र पुस्तकालयमार्फत आरोग्यता र दिगो जीवनशैली प्रवद्र्धनका साथै वैदिक ज्ञान, सामुदायिक विकास र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गरी देशकै गर्व गर्न लायक नमुना परियोजना विकास गर्ने दीर्घकालीन लक्ष्यसहित काम भइरहेकाबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको झाले बताए।
जवाफमा प्रधानमन्त्री ओलीले संस्कार, संस्कृति, आयुर्वेद र आरोग्यका क्षेत्रमा नेपालको आफ्नै वैदिक अभ्यास रहेको र त्यसमा सघाउ पुग्नेगरी मौलिक परियोजना स्थापना भएको जानकारी पाउँदा खुसी लागेको बताए । उनले रैथाने गाई संरक्षण र गौआधारित एकीकृत कृषि प्रणालीमार्फत मानव स्वास्थ्य, पञ्चगव्य उत्पादन र रोजगारी सिर्जना हुँदा देशले पनि लाभ लिने विश्वास व्यक्त गरे।
“वास्तवमा धेरै समस्याको निदान हाम्रो वैदिक मान्यतामा छ । हाम्रो धर्मसंस्कारमा गाईको महत्त्व त छ नै, त्यसको प्रवद्र्धनमार्फत प्रचुर लाभ लिने सकिन्छ । रैथाने गाई संरक्षण, पञ्चगव्य उत्पादन र प्राकृतिक कृषि विकासमार्फत स्वस्थ जीवनशैली र रोजगारी सिर्जनामा योगदान गर्ने तपाईंहरूको योजना मौलिक छ । अब यस्तै नयाँ नयाँ योजनासहित देश विकासमा लाग्नुपर्छ, यो सचेत नागरिकको दायित्व पनि हो । सरकारले यस्ता योजना र सोचलाई प्रोत्साहन गर्छ”, प्रधानमन्त्री ओलीले भने।
छलफलमा सहभागी नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सुजिता शाक्यले गौआधारित कृषि प्रणाली, प्राकृतिक जीवनदर्शनका माध्यमबाट देश र समाज विकासमा योगदान गर्ने जनकधामको परिकल्पना उत्साहजनक रहेको बताए। उनले भने, “अव्यवस्थित आहारबिहार, अप्राकृतिक जीवनशैलीका कारण विविध समस्या देखिरहेका छन् । जसले मानसिक र शारीरिक रुपमा स्वास्थ जनशक्ति निर्माण गर्ने राज्यको लक्ष्यमा चुनौती थपिएको छ । विकास बजेट कटौति गरेर अर्बौ रकम स्वास्थ्यउपचारमा खर्चिनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा गौआधारित एकीकृत जीवनमार्फत रोगव्याधि नियन्त्रण, स्वस्थ जीवन र संस्कारयुक्त जीवनपद्धतिका लागि योगदान गर्ने जनकधामको परिकल्पना राम्रो छ ।”
धनुषाको क्षीरेश्वरनाथ—८ दिगम्बरपुरमा ‘जनकधाम’ परियोजना सञ्चालन भइरहेको छ । बीस बिघामा फैलिएको उक्त धाममा हाल एक सय १० भन्दा बढी देशी गाईबाच्छा रहेका छन्, जहाँ गाईमा आधारित कृषि, हर्बल खेती, पञ्चगव्यमा आधारित उपचार पद्धतिको विकास भइरहेको छ । त्यहाँबाट पञ्चगव्य अर्थात् दुध, दही, घ्यु, गहुँत (गौमुत्र) र गोबर तथा हर्बलको प्रयोग गरेर ७० भन्दा बढी औषधिजन्य उत्पादन भइरहेका छन् । आगामी तीन वर्षभित्र यस्ता उत्पादन एक हजारसम्म पु¥याउने लक्ष्य रहेको झाले जानकारी दिए।






