पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपाल १ रनले पराजित भएको छ ।
अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा पाकिस्तान शाहीन्सले नेपाललाई दिएको १४५ रनको लक्ष्य नेपालले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्न नसक्दा १ रनले पराजित भएको हो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ५२ रन र दिपेन्द्रसिंह ऐरीले ४१ रनको पारी खेल्दा पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । त्यस्तै आशिफ शेखले २७ रन बनाएका थिए भने लोकेश बमले १० रन जोडे । त्यसबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो ।
पाकिस्तान शाहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान दुईरदुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे । यसअघि पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित हासिल गरेको छ ।
नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । त्यस्तै नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।






