‘श्रमिकको अधिकार संरक्षणका लागि विदेशस्थित नेपाली कूटनीतिक नियोग क्रियाशील हुनुपर्छ’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले श्रमिकहरूको अधिकार संरक्षणमा कुनै कमजोरी हुन नदिन विदेशस्थित नेपाली कूटनीतिक नियोग क्रियाशील हुनुपर्ने बताएका छन् ।

मलेसियास्थित नेपाली दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा रहेर नेपालको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्ने श्रमिकको अधिकारका लागि दूतावासले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार विशेषगरी मलेसियामा नेपाली सेक्युरिटी गार्डहरूमाथि भइरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीरतापूर्वक ध्यान दिन मुख्यमन्त्रीले आग्रह गरे ।

यस अवसरमा मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव पनि सहभागी भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली राजदूत डा नेत्रप्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया