विदेह नगरपालिकामा एक हजार १०० जग्गाधनी पूर्जा वितरण

जनकपुरधाम । सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीवीमन्त्री बलराम अधिकारीले धनुषाको विदेह नगरपालिकाको इटहर्वामा आयोजित एक समारोहबीच सो पालिकाका एक हजार १०० जनालाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरेको छ ।
नापी कार्यालय धनुषाद्वारा आज आयोजित समारोहमा गाउँब्लक जग्गाधनी दर्ता प्रमाण–पूर्जा वितरण कार्यक्रममा सो पालिकाको वडा नं एकदेखि वडा नं नौसम्मका जनतालाई उहाँले जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो ।
मन्त्री अधिकारीले भूमि समस्याको समाधान सङ्घीय सरकारको एक्लो प्रयासले समाधान गर्न समस्या भएकाले तीनै तहका सरकारको सहयोग तथा समन्वय आवश्यक रहेको बताए।
आगामी तीन वर्षमा भूमिहीन, सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित वसोवासीको समस्या समाधान हुने उनले आश्वासन दिए। साथै भूमि आयोगको कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले भूमि समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकतामा दिएको बताए। सङ्घीय सांसद रामकृष्ण यादवले जनताको हकहितको विषयमा राजनीति तथा भेदभाव गर्न नहुने विचार व्यक्त गरे।
विदेह नगरपालिकाका नगरप्रमुख वेचन दासले नापी कार्यालयबाट खटिएका कर्मचारीले लालपुर्जा बनाउने तथा सर्वे गर्ने कार्यमा सर्वसाधारणलाई दुःख दिने तथा गैरकानुनीरूपमा रकम माग्ने गरेको गुनासो गरे।






