कमला बाँध तस्करको सेफ वे’ : प्रहरीकै निगरानीमा तस्करी [भिडियोसहित]

जनकपुरधाम। गत सोमबार बिहान १०ः१३, १०ः१४, १०ः२० र १०ः३७ बजे खिचिएका तस्वीरहरुमा एउटा साइकल र तीनवटा मोटरसाइकलमा भारी सामान बोकेर नेपालतर्फ ल्याइरहेको देखिन्छ । ती सामान भारतको जयनगरबाट इनर्वा बोर्डर हुँदै नेपाल भित्र्याइरहेका देखिन्छ ।

उक्त सामान नियमसंगत भित्र्याएको नभई तस्करीमार्फत नेपाल भित्रिएको प्रमाणका दृश्यहरू हुन् । चारवटा मात्र होइन, दिनहुँ सयौं मोटरसाइकल र साइकल यही बाटो भएर तस्करीमा संलग्न हुन्छन् ।

पछिल्लो दिनमा धनुषा र सिरहालाई जोड्ने कमला नदीको बाँध तस्करीका लागि ‘सेफ वे’ अर्थात् सुरक्षित मार्गको रूपमा स्थापित भएको छ । बिहारको मधुबनी जिल्लाको जयनगरबाट यही बाटो प्रयोग गरेर दैनिक सयौं तस्कर नेपाल पस्ने गरेका छन् ।

सशस्त्र प्रहरी बल बोर्डरमा र नेपाल प्रहरी बाँध क्षेत्रमा खटिए पनि उनीहरुकै आँखा अगाडिबाट निर्बाध तस्करी भइरहेको छ । प्रहरीको संलग्नता प्रमाणित हुनेगरी बाँध क्षेत्रमा अवैध असुली गरी ‘महिनावारी’ लिएर तस्करी सहज बनाउने हुने गरेको छ ।

यो बाटो प्रयोग गरी भारतीय सामग्री नेपालतर्फ भित्रिन्छ भने नेपालतर्फबाट बिहारमा प्रतिबन्धित मदिरा निर्वाध रूपमा पठाइन्छ ।

कमला बाँध मात्र होइन, दुहबी, महिनाथपुर, तिनकौरिया, हरलाखी जस्ता स्थानहरू पनि तस्करीका ‘हटस्पट’ मानिन्छन् ।

निर्वाध रुपमा तस्करी गर्न प्रहरीका तल्लोदेखि माथिल्लो पदाधिकारीसम्म मासिक लाखौ रुपैयाँ पुग्ने गरेको स्रोत बताउछन् ।

प्रतिक्रिया