तेस्रो वर्षमा कोरोना : नेपालमा पनि तेस्रो चरणको लहरको सुरुवात, सावधानी मात्रै एक विकल्प

काठमाडौं । सन् २०१९ को डिसेम्बर ३१ लाई सायदै कसैले बिर्सन सक्छन् होला । कारण, कोरोना भाइरस औपचारिक रुपमा देखा परेको दिन हो यो । चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो । पछिल्लो २ वर्षदेखि कोरोनाका कारण सबैको जनजीवन अस्तव्यस्त बनेको छ भने हरेक क्षेत्र प्रभावित बनेको छ ।

रुघाखोकी, उच्च ज्वरो, टाउको दुख्ने, जीउहात दुख्ने जस्ता सुरुवाति लक्षणसहित देखिएको कोरोनाले दुई वर्षमा कतिऔं स्वरुप परिवर्तन गरिसकेको छ । वुहानमा देखिएको कोरोना भाइरसलाई सार्स–सीओभी–टु नामाकरण गरियो । हाल देखिएको कोरोना भाइरसभन्दा अघि सन् २००३ र २०१२ मा नै सार्स र मर्स नामक भाइरस फेला परेको थियो । त्यसकै परिवर्तित स्वरुप भनिएपनि यो कोरोना भाइरस निकै नै फरक रहेको मानिएको छ ।

सार्स–सीओभी–टु सन् २०१९ को डिसेम्बरमा देखिएको महिना दिन नबित्दै विश्वभर नै फैलियो । त्यसपछि सन् २०२० को सेप्टेम्बरमा यसले पहिलो म्यूटेशन देखियो । बेलायतमा देखिएको कोरोनाको पहिलो परिवर्तित स्वरुपलाई युके भेरिएन्ट नामाकरण गरियो । वुहानमा देखिएको कोरोना भाइरसभन्दा फरक र कडा खालका लक्षण तथा बढी गम्भीरता गराउने भेरिएन्टको रुपमा युके भेरिएन्टलाई लिइयो ।

युके भेरिएन्टको सङ्क्रमण दर वुहानमा देखिएको भाइरसभन्दा झन्डै ७० प्रतिशत बढी सङ्क्रामक रहेको वैज्ञानिकहरूले बताए । युके भेरिएन्टले पनि बेलायत हुँदै अमेरिका, जापान, भारत, क्यानडा लगायत विश्वलाई नै आफ्नो चपेटामा लियो । नेपालमा पनि त्यसको सङ्क्रमण देखियो । जसका कारण नेपालमा पनि दोस्रो चरणको कोरोना महामारी सुरु भयो र पहिलो चरणको भन्दा बढी मानिसले मृत्युवरण गर्नुपर्यो ।

वर्तमान अवस्थाको कुरा गर्दा अहिले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोनले सबैलाई त्रसित बनाएको छ । ओमिक्रोनका कारण पनि विश्वका विभिन्न मुलुक चपेटामा आइसकेका छन् । जसका कारण विश्वभर फेरि कोरोना सङ्क्रमणको दरमा वृद्धि हुन थालेको छ । ओमिक्रोनका कारण सबैभन्दा बढी बेलायत प्रभावित बनेको छ भने भारत, अमेरिका लगायतका मुलुकमा पनि ओमिक्रोनले चिन्ता बढाएको छ ।

भारतमा दैनिक सङ्क्रमणदर फेरि २ लाख नजिक पुगिसकेको छ भने अमेरिकामा ५ लाखभन्दा बढी सङ्क्रमित थपिन थालेका छन् । नेपालपनि तेस्रो चरणको लहरबाट अछुतो छैन । नेपालमापनि विगत एक सातादेखि कोरोना सङ्क्रमणको दरले तीव्रता पाएको छ । गत बुधवारदेखि नेपालमा कोरोनाका कारण नयाँ सङ्क्रमित थपिनेको दर निरन्तर रुपले उकालो लाग्दै गएको छ । जसलाई कोरोनाको तेस्रो चरणको लहर मान्न सकिने विज्ञहरू बताउँछन् ।

एक सातामै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । दैनिक २ हजारका दरले सङ्क्रमित थपिन थालेका छन् । तर, यी सबका बाबजुद राहतको कुरा के मात्रै छ भने मृत्यु हुनेदर अझैपनि कम छ । यो अवस्था नेपालमा मात्रै होइन विश्वभर नै छ । विश्वभर कोरोनाका कारण पहिलो र दोस्रो चरणको लहरभन्दा हाल दैनिक सङ्क्रमित थपिने दरले नयाँ रेकर्ड कायम गर्न थालेको छ । दैनिक २२ देखि २७ लाखसम्म कोरोना सङ्क्रमित थपिदा मृत्यु हुनेदर ४ देखि ८ हजार मात्रै छ ।

नेपालमा विशेषगरी काठमाडौं उपत्यका र भारतसँग सीमानाका जोडिएका क्षेत्रमा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिसकेको अनुमान गर्न थालिएको छ । परीक्षण दर बढ्नु र सङ्क्रमणदर पनि बढ्नुलाई समुदायस्तरमै सङ्क्रमण फैलिएको हुन सक्ने अनुमान विज्ञहरूको छ ।

छातिरोग विशेषज्ञ एवं त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा.निरज बमका अनुसार नेपालमा जुन गतिमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ त्यसलाई सामान्य रुपमा लिनु हुँदैन ।

उनले नेपालमा जुन गतिमा सङ्क्रमणदर बढिरहेको छ त्यो तेस्रो चरणको लहर नै रहेको बताए ।

उनी भन्छन्, ‘हामीले कोरोनाको दुई चरणको लहर सामना गरिसकेकाले हामीसँग अनुभव धेरै भएपनि ओमिक्रोनबारे अझै अनभिज्ञ छौं । त्यसकारण आफ्नो स्वास्थ्य सावधानी अपनाउनै पर्ने र खोप नियमित तरिकाले पालो अनुसार सबैले लगाउनुपर्ने हुन्छ । हुन त खोप लगाइसकेकामा पनि कोरोना सङ्क्रमण देखिँदैछ । तर, मृत्यु हुने सम्भावना कम रहेकाले खोप लगाउनुपर्ने हुन्छ ।’

उनी मात्रै होइन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि नेपालमा बढ्दो कोरोना सङ्क्रमणलाई तेस्रो चरणको लहरको रुपमा लिन सकिने बताउँछ । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जुन गतिमा नेपालमा कोरोना सङ्क्रमणको दरमा उछाल देखिएको छ त्यो कोरोनाको तेस्रो चरणको लहर नै हुन सक्ने बताए ।

सरकारले यसलाई औपचारिक रुपमा तेस्रो चरणको लहर घोषणा नगरेपनि यो तेस्रो लहर नै रहेको देखिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनले गर्दा कोरोनाको सुनामी आउन सक्ने भन्दै चेतावनी नै जारी गरेको छ । सङ्गठनले ओमिक्रोनलाई सामान्य नठान्न र खोपलाई निरन्तरता दिन पनि सबै राष्ट्रलाई आग्रह गरेको छ । यदि कोरोना महामारीबाट बच्नु छ भने कोरोनाविरुद्धको खोपलाई सबैको पहुँचमा पुर्याउनुपर्ने सङ्गठनको भनाइ छ ।

सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हनोम घेब्रेयससले यदि धनी मुलुकले खोप आपूर्तिलाई सहज बनाएन भने गरिब मुलुकमा कोरोनाले सँधै नै भयावह अवस्था रहिरहने भन्दै चिन्ता व्यक्त गरे । उनले कोरोना महामारीविरुद्धको लडाई धनी मुलुकले मात्रै नभएर सबैले लडिरहेका कारण कोरोनाविरुद्धको खोपलाई पनि सबैको पहुँचमा दिन आग्रह गरे ।

भाइरसमा म्यूटेशन हुनु सामान्य प्रक्रिया रहेपनि कोरोनामा देखिएको म्यूटेशनले भने सबैलाई चिन्तित मात्रै बनाउँदै आएको छ । जति जति नयाँ स्वरुप फेला पर्दैछ त्यति नै कोरोना भाइरसमा भएको म्यूटेशनले सबैलाई त्रसित बनाउँदै लगेको छ ।

कोरोना महामारी सुरु हुँदै गर्दा जसरी सबै त्रसित र चिन्तित थिए फेरि एकपटक ओमिक्रोनले सबैको ध्यान तानेको छ । कारण, यसले पनि कोरोनाविरुद्धको खोपको दुबै मात्रा लिइसकेको र कोरोना सङ्क्रमण पछि निको भइसकेकालाई दोहोर्याएर सङ्क्रमित बनाउन थालेको छ । जसका कारण बेलायत, रुस, अमेरिका लगायतका मुलुकमा कोरोना महामारीको तेस्रो लहर सुरु भएको वैज्ञानिकहरूले दावी गरेका छन् ।

कोरोना महामारी सुरु भएदेखि नै विश्वका अब्बल स्वास्थ्य प्रणाली मानिएका मुलुकहरूको स्वास्थ्य प्रणालीलाई प्रभावित बनाइदियो । इटली जहाँको स्वास्थ्य प्रणालीलाई विश्वकै नमूना र उत्कृष्ट मानिन्थ्यो त्यहाँ पहिलो लहरले यतिसम्मको खराब अवस्था उत्पन्न गरायो की अरु मुलुकसँग सहयोग लिनुपरयो । बेलायत, अमेरिका, भारत, स्पेन, फ्रान्स, जर्मनी जस्ता ठूला र स्वास्थ्य प्रणाली बलियो थियो ती देशमा पनि कोरोनाले भयावह स्थिति उत्पन्न गरायो । तर, चीनले भने आफूलाई समयमै संयमित बनाउँदै अहिले नमूना र प्रशंसनीय मुलुक बनेको छ । जहाँबाट कोरोना सुरु भयो त्यहाँ कोरोना महामारीलाई नियन्त्रण गर्ने हरेक प्रणालीलाई विश्वकै नमूनाको रुपमा प्रस्तुत गरिएको छ ।

कोरोनाविरुद्धको खोपलाई नयाँ भेरिएन्टले काम गर्छ वा गर्दैन भन्ने प्रश्नले पनि सबैलाई उत्सुक बनाउने गर्छ । कारण, खोप विकास गर्ने बेलामा कोरोनाको एउटा म्यूटेशन वा एउटा रुप थियो भने म्यूटेशन भइसकेको भाइरसमा त्यो खोपले काम गर्ने वा नगर्नेमा बेला बेला बहस हुँदै आएको छ ।

खोप लगाएपनि मृत्युदर कम गराउने भएकाले खोप अनिवार्य लगाउन वैज्ञानिक र चिकित्सकहरूले सुझाव दिँदै आएका छन् । तर, विश्वका कतिपय मुलुकमा हालसम्म खोप अभियान नै सुरु भएको छैन भने कतिपय मुलुकमा खोप अभावका कारण नागरिकहरू खोप लगाउनबाट बञ्चित भएका छन् ।

कोरोनाबाट जोगिन खोप अनिवार्य लगाउनुपर्ने भएपनि धनी मुलुकले खोप सञ्चित गरेका कारण र खोपको मिति सकिने बेलामा खोप अनुदानमा दिने कारणले गर्दापनि खोप अभियान प्रभावकारी हुन नसकेको विश्व स्वास्थ्य सङ्गठनले बताउँदै आएको छ ।

सन् २०२१ को अन्त्य हुँदै गर्दा कोरोनाको ओमिक्रोन भेरिएन्टले सबैलाई त्रसित बनाएर गएको छ । हालसम्म विश्वका ८० भन्दा बढी मुलुकमा फैलिसकेको ओमिक्रोनका कारण सन् २०२२ को सुरुवात खल्लो बनेको छ । तर, यी सबका बाबाजुद हामीले भुल्न नहुने भनेको आफ्नो स्वास्थ्य सावधानी हो ।

नयाँ वर्ष लागेसँगै कोरोनाले थप कस्तो अवस्था ल्याउने हो त्यसको अनुमान अहिलेदेखि नै पनि लगाउन सकिन्छ । किनकी बेलायत, फ्रान्स, अमेरिका, भारतसहित विश्वका विभिन्न मुलुकमा तेस्रो चरणको लहर सुरु भइसकेको छ भने अफ्रिकी मुलुकमा खोप अभियान नै चल्न सकेको छैन ।

विगतमा आवश्यक ध्यान नदिएकै कारण नेपालले मानवीय, आर्थिक र सामाजिक क्षति व्यहोर्नु परेको छ । पहिलोपटकको लहरको पाठ सिक्न र आवश्यक तयारी गर्न नसक्दा ठूलो मानवीय क्षति मुलुकले व्यहोर्नु परेको थियो । त्यसैले अहिले अति उच्च सतर्कताको विकल्प छैन ।

सबैभन्दा ठूलो प्राथमिकता नागरिकको जीवनरक्षा नै हो । सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्दै आएपनि नागरिक तहबाट हेलचक्र्याइँ गरिएको देखिन्छ । कोरोना सङ्क्रमण उच्च भएको अवस्थामा जुन तरिकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्छन् त्यसरी नै सँधै गरिरहनु पर्ने हो । तर, सङ्क्रमणदर घटेसँगै फेरि नागरिकबाट जनस्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्न थालिएको देखिन्छ । जुन पक्कैपनि उचित भने होइन ।

सरकार, चिकित्सक, विज्ञ र विभिन्न सरोकारवालाले पनि कोरोना महामारी आजको भोलि या आउने दिनमै सकिहाल्ने अवस्था नरहेकाले यसलाई वेवास्ता नगर्न बारम्बार आग्रह गर्दै आएको छ । आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैले लिनुपर्ने अठोटका साथ जबसम्म ध्यान दिइँदैन तबसम्म यो महामारीविरुद्धको लडाइँ लड्न सकिँदैन ।

सर्वसाधारणको थोरै असावधानीका कारण सङ्क्रमणदर बढ्ने र अस्पतालमा चाप बढ्ने हुन्छ । हामी कुन अवस्थामा छौं, हाम्रो मुलुकको स्वास्थ्य अवस्था के छ ? यी सबै कुराको मनन गर्नुपर्ने दायित्व थोरै भएपनि नागरिकको पनि छ । त्यसकारण सरकार र चिकित्सकले भनेका कुरा र गरेको आग्रहलाई सबैले आत्मसात गर्नुपर्छ र गर्नुपर्ने हुन्छ ।

यदि हामी सबै सचेत र सभ्य नागरिक बन्न सकेनौं भने त्यसले निम्तिने खतराको पनि सामना हामीले नै गर्नुपर्ने हुन्छ । त्यसकारण समयमै सतर्कता अपनाउनु पर्छ ।

नेपालमा पनि सरकारले बारम्बार कोरोना महामारीको जोखिम कायमै रहेकाले सतर्क र सावधान रहन आग्रह गर्दै आएको छ । तर, मानव जातिले सरकारको आग्रहलाई वेवास्ता गर्दै जादा नेपालमा पनि तेस्रो लहरको जोखिम कायमै रहेको देखिन्छ । त्यसकारण सबैले आ आफ्नो स्थानबाट सतर्क र सावधान रहनै पर्छ ।

प्रतिक्रिया
नागरिक मिरर