उधारो ‘शर्ट–पैन्ट’ सिलाएर मेयर यादव गायब, खोज्दै टेलर्सबाला

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीप कुमार यादवले दुई वर्षअघि जनकपुरधामस्थित (फैशन टेर्लस) मा पैन्ट–शर्ट सिलाएर अहिलेसम्म पैसा नदिएको टेलर्स सञ्चालकले गुनासो गरेका छन् ।

नगरपालिकामा निर्वाचित भएपछि एकै पटक पाँच वटा शर्ट र तीनवटा पैन्ट सिलाएको ४३ सय र कपडाको २४ हजार ६ सय गरी २८ हजार ९ सय रुपैयाँ अहिलेसम्म मेयर यादवले नदिएको टेर्लस सञ्चालक मोहम्मद अतहरको गुनासो छ । ‘दुईवर्ष अघि मेयर साहब टेर्लसमा आउनु भयो, कपडा आफै छानेर लिनुभयो । नाप दिनुभयो, हामीले शर्ट पैन्ट बनाइदिए पछि पैसा पछि दिन्छु भनेर शर्टपैन्ट लग्नु भयो । तर, अहिलेसम्म पैसा दिनुभएको छैन्,’ अतहरले भने, ‘मैले पैसाका लागि पटकपटक मेयरको घरमा मान्छे पठाउँदा आज दिन्छु भोलि दिन्छु भनेर आलटाल गर्दै आएका छन् ।’

‘मेयर जस्तो मान्छेले पैसा राख्दैन भनेर विश्वास गरेर कपडा पनि मैले उधारो दिए ’, उनले भने, ‘टेर्लसबाट कपडा लगेकोदेखि कहिले भेट्न आएका छैनन् । कहिलेकाहीँ बाटोमा भेट्दा हातको इसारा दिँदा पनि मेयर साहब गाडी नरोकी जानुहुन्छ । बाध्य भएर यो कुरा बाहिर ल्यानुपरेको छ । कमसे कम आफ्नो मेहनतको पैसा पाउँछु की भनेर । ’

मेयर यादवसँग पैसा मगाइदिन नागरिक मिररसँग आग्रह गर्दै अतहरले भने, ‘म पैसा माग्दा माग्दै थाकीसके, एकपटक तपाईंहरूले नै उहाँलाई भनिदिनुपर्यो ।’

हंसपुर नगरपालिकाका एक कर्मचारीका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले भने, ‘मेयर यादवलाई एउटा पैन्ट र एउटा शर्ट मात्रै सिलाउनका लागि भनेका थिए । तर, मेयर साहबले पाँच वटा शर्ट र तीनवटा पैन्ट सिलाउनुभयो । कपडा पनि टेर्लसबालासँग उधारो लिनु भयो । मेयरले हाकिमको आदेश विपरित गर्नुभयो । हाकिम पनि पालिकाबाट जानुभयो । त्यसैले पैसा बाँकी रहेको हुनसक्छ ।’

प्रतिक्रिया