जानकी मन्दिरमा १०१ कोसेली अर्पण

जनकपुरधाम। कोजाग्रत पूर्णिमाका अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) ल्याइएको छ ।

महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा परम्परागत रूपमा ल्याइने १०१ कोसेली यसवर्ष पनि अर्पण गरिएको हो । सयौँ वर्षदेखि निरन्तर चलिआएको यस धार्मिक परम्पराअनुसार, आज पनि रतौलीवासीले विविध पूजा सामग्रीसहितको भार मन्दिर ल्याइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामारोशन दास वैष्णवले बताए।

कोजाग्रत पूर्णिमा हिन्दू धर्ममा विशेष महत्व राख्ने रात हो । धार्मिक विश्वासअनुसार, आज राति देवी लक्ष्मीले जाग्राम बसेका भक्तजनलाई धन र समृद्धिको वर्षा गर्छिन् । त्यसैले यो रातलाई ‘अमृत वर्षा’ रातका रूपमा लिने गरिन्छ ।

रतौलीबाट ल्याइएको भार जानकी मन्दिरको विशेष पूजामा समर्पित गरिन्छ । जुन जानकी र रामप्रति भक्तिको प्रतीकका रुपमा लिइन्छ । यस परम्पराले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक ऐक्यबद्धतालाई मजबुत बनाउँदै आएको पण्डित कुशेश्वर उपाध्यायले बताए।

रतौलीका स्व महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको भारबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा छ । भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको कपडा ल्याइन्छ । सो परम्परा सयौँ सालदेखि चल्दै आएको छ ।

भारमा पान, मखन, फलफूल, दही, मिठाइ, सौँफ, मुमफली अनिवार्य हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा लग्नुपर्ने हुन्छ । बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात् चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले आशीर्वाद दिने गर्छन् । यस दिन बेहुलालाई मिथिलाको पाग लगाइ ससुरालीबाट आउने कपडा पहिराउने गरिन्छ ।

बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्म पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आशीर्वाद दिनु हो । चुमाओन विधि सकिएपछि सामूहिक रूपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् । यस अवसरमा मिठाइ, मखन, पान बाँड्नैपर्ने हुन्छ ।

खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौँसट्ठी बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामान दिने चलन छ । आभूषण, औँठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यसदिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरेअनुसार बाँकी दाइजो दिने चलन छ । यसदिन बेहुली पक्षबाट कम्तीमा पाँच देखि ११ वा १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ ।

छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेलीझैँ कोजगरा पर्वमा कोसेली दिने गरिन्छ । मिथिला संस्कृतिअनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पु–याउनुपर्ने हुन्छ ।

जानकी मन्दिरमा महोत्सव

कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष महोत्सवको आयोजना गरिएको छ ।

कोजाग्रत पूर्णिमालाई भव्य बनाउन जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गरिन्छ । प्रत्येक वर्ष उत्सवका बेला हाँस्यपरिहास आयोजना हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए।

महोत्सवलाई आकर्षक बनाउन मन्दिरमा भजन कीर्तन आयोजना गरिन्छ । महन्थ वैष्णवकाअनुसार मिथिलानीले आफ्नो ज्वाइँका लागि पनि भार पठाउने गर्छन् । यो परम्परा विगत ११५ वर्षदेखि चल्दै आएको बताइन्छ ।

प्रतिक्रिया