धनुषामा लुटेराको आक्रमणबाट प्रहरी असई घाईते, ५ जना आक्रमणकारी प्रहरीको नियन्त्रणमा

जनकपुरधाम । धनुषामा लुटेराको आक्रमणबाट प्रहरी असई घाईते भएका छन् ।

आक्रमणमा परी जिल्लाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेल घाईते भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

भारतको मद्रासबाट कमाएर फर्किदै गरेको महोत्तरीको भंगहा नगरपालिका ७ का अमित पासमानसँग लुटेरा समूहले पैसा, लत्ताकपडा, मोबाइललगायत सामान लुटपाट गरिरहेको बेला लुटेरालाई पक्राउ गर्न पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले उपर आक्रमण भएको प्रहरी उपरीक्षक रजौरेले जनाए ।

घाईते असई पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । उपचाररत असई पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ।

प्रहरीका अनुसार लुटिएका पासमान कमाएर बटेश्ववर गाउँपालिका २ भुचक्रपुरस्थित ससुराली जाँदै थिए।

महेन्द्रनगर बजारबाट अटोरिक्सामा बसेर पासवान ससुराली फर्किँदै गर्दा राम्रोचोकमा रोकेर सामान लुटपाट गरेपछि प्रहरीलाई खबर पुगेको थियो । लुटपाट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेललाई पछाडिबाट हेल्मेट, लाठीले टाउकोमा हानेको प्रहरीले जनाएको छ।

लुटपाट तथा आक्रमणमा संलग्न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।

जसमध्ये मुख्य आरोपित स्थानीय रामजीवन ठाकुरका साथबाट लागुऔषध नाइट्रोभेट ट्याब्लेट र चक्कु बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया
नागरिक मिरर