क्रसर माफियाले खनेको खाल्डोमा परेर एक बालकको मृत्यु

जनकपुरधाम। धनुषाको बटेशवर गाँउपालिका-१ स्थित बडहरी खोला नजिक रहेको खाल्डोमा जमेको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ।
क्रसर माफियाले खनेको खाल्डो र त्यसमा जमेको पानीमा साथीहरूसँग नुहाउन गएका बेला स्थानिय रामशोगारथ महतोका १४ वर्षीय छोरा अविनाश महतोको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

बटेशवर गाँउपालिका-१ का वडा अध्यक्ष अशोक महतोका अनुसार “हामीसँग कुनै समन्वय नगरी खेत धनीले क्रसर माफियासँग मिलेर अवैध उत्खनन् गरेका छन् । र, यस्ता घटनाहरू बारम्बार दोहोरिने भएकाले दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक छ ।”
घटनाको जिम्मेवार क्रसर माफियासँगै स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन समेत रहेकाे र कमिसनको आडमा अवैध उत्खननको संरक्षक यी दुवै निकाय रहेको हुनाले दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने स्थानीयको भनाइ छ।

बटेशवर गाँउपालिका र मिथिला नगरपालिकाको क्षेत्रमा क्रसर माफियाहरूको बिगबिगी निरन्तर बढ्दै गईरहेको छ। बटेशवर गाँउपालिकामै दुईवर्ष अघि विगही खोलामा खनिएको खाल्डोमा स्थानीय विनोद महतोका छोराको पनि अकालमै मृत्यु भएको थियो ।