बन्धकहरू मुक्त हुन थाले, विपिन जोशी ‘जीवित रहेको कुनै प्रमाण फेला परेन’

दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको“ औपचारिक जानकारी इजरेली सेनाले गराएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
बन्धक बनाइएकामध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको हमासले जनाएको छ। इजरेल र हमासबीच सङ्घर्षविराम भएपछि सोमवारदेखि बन्धकहरू मुक्त गर्न थालिएको छ। हमासले पहिलो खेपमा सात इजरेली नागरिक आफूलाई हस्तान्तरण गरेको इजरेली सेनाले पुष्टि गरेको छ।
तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए। “केही थप आयो र चामत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा। नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज दिएका हुन्,“ उनले भने।
परिवारलाई जानकारी
हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए।
आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरेलमा राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर इजरेली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका हुन्। स्थानीय समयानुसार सोमवार बिहान साढे ७ बजेतिर उक्त जानकारी गराइएको हो।
किशोरले पनि सामूहिक कलमा आफू सहभागी भएको र जीवित २० जनाको सूचीमा आफ्ना भाइ विपिन नरहेको जानकारी पाएको बीबीसीसँग पुष्टि गरे।
“जीवित भनिएका २० जना बन्धकको सूचीमा विपिन छैनन् भनेर उहाँहरूले हामीलाई भन्नुभयो,“ सामूहिक टेलिफोनल कुराकानीमा सहभागी किशोरले बीबीसीसँग भने।
सन् २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनाजतिलाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए। इजरेलमा भएको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो।
विपिन कसरी पुगेका थिए?
अक्टोबर २०२३ को घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए।
कञ्चनपुरका विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए।
विपिन जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।
तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।
केही साताअघि हमासले तस्बिरसहित सार्वजनिक गरेको एउटा सूचीमा उक्त लडाकु समूहले जोशीको नाम पहिलो पटक समाविष्ट गरेको थियो। तर उनको अवस्था खुलाइएको थिएन।
गत वर्ष इजरेली सेनाले फेला पारेको एउटा भिडिओ फूटेजमा जोशीलाई गाजास्थित एउटा अस्पतालभित्र लग्दै गरिएको देखिएको थियो। उक्त भिडिओ नोभेम्बर २०२३ को थियो।
हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको अर्को भिडिओमा जोशीले आफ्नो परिचय दिएका छन्।
हमास र इजरेलले सङ्घर्षविराम गर्ने तयारी गरेपछि जोशी परिवारले उनी “जीवित रहेको“ प्रमाण भन्दै उक्त भिडिओ सार्वजनिक गरेको थियो।
के कस्ता पहल भए?
गत साता उनको नेपालस्थित परिवारले विपिन जोशी छिट्टै रिहामुक्त भई आफ्नो सम्पर्कमा आउने आशा व्यक्त गरेको थियो।
उनका बुवा महानन्द जोशीले हमासलाई युद्धविरामका लागि सहमत गराउने प्रयास सुरु भएसँगै विपिन सकुशल घर फर्किने आशा बढेको बताएका थिए।
’’युद्धविरामको कुरा आएको छ फेरि। पहिलाझैँ हुने हो कि के हुने हो थाहा छैन। भगवान्ले कति पीडा दिएका हुन्?“
जोशीको रिहाइका लागि पहल गर्न अन्तर्राष्ट्रिय जगत्सँग आह्वान गर्न भन्दै झन्डै एक महिनाअघि उनकी आमा पद्मा र बहिनी पुष्पा इजरेल गएका थिए। त्यसपछि नेपाल फर्किएर उनीहरू संयुक्त राष्ट्रसङ्घको महासभामा जोशीको मुक्तिको पहल गर्न अमेरिका गए।
नेपाल सरकारको तर्फबाट विपिन जोशीबारे कूटनीतिक पहलहरू हुँदै आएका अधिकारीहरूले बताउँदै आएका थिए।
नेपाली अधिकारीहरूका अनुसार सो विषयमा कतारदेखि इजिप्टसम्मका उच्च अधिकारीहरूलाई पहलका लागि आग्रह गरिएको थियो।
–बीबीसी न्यूज नेपाली