यसपालि छ दिनको यमपञ्चक

महोत्तरी । उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली आजदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो ।

मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार आज ‘धनतेरस’ बाट सुरु भएर आउने बिहीबार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ ।

नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आइएको छ । यसपालि बितेको शारदीय नवरात्र जस्तै यमपञ्चक एक दिन बढेको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मिथिलामा दीपावली भनिने ‘यमपञ्चक’ यसपालि तिथिको भोग घटबढले छ दिन भएको हो । यसपालिको शारदीय नवरात्र १ः१० दिनकोे भएको थियो ।

महोत्तरीसहित मधेसका प्राचीन मिथिला क्षेत्रमा चाडपर्व र तिथिको टुङ्गो मिथिला पञ्चाङ्गम् र विद्यापति पञ्चाङ्गम्बाट निधो गरिन्छ । यमपञ्चकको पहिलो दिन धनतेरस कात्तिक कृष्ण त्रयोदशीको गोधुली साँझपछिको रात्रिभोगको समयमा मनाउने चलन रहेको छ । यसैले आज अपराह्न १ः२३ बजेपछि त्रयोदशी सुरु भइ भोलि आइतबार दिउँसो १ः५६ बजेसम्म रहने पञ्चाङ्गमा उल्लेख रहेको पण्डित महेशकुमार झा बताउछन्।

“त्रयोदशीको साँझ र रात एकैदिन परेको हुँदा धनतेरस आजै मनाइन्छ”, झा भन्छन्, “तर त्रयोदशी तिथिमै गरिने दीपावली पर्वको कागपूजा भने भोलि आइतबार मध्याह्नसम्म गरिनुपर्छ ।” धनतेरस सन्ध्याकालसँगै रात्रिमा र कागपूजा दिनमा मनाउने चलनले यस्तो भएको उनको कथन छ ।

यसैगरी दीपावली पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजा पर्सी सोमबार साँझ नै गरिने छ । सो दिन सूर्योदय चतुर्दशी तिथि भए पनि दिउँसो ३ बज्नुअघि औँसी सुरु हुने हुँदा लक्ष्मीपूजा सोही दिन गरिने पञ्चाङ्गले निर्देश गरेको झाको भनाइ छ ।

दीपावली पर्वका धनतेरस र लक्ष्मीपूजा सन्ध्याकालमा सुरु गरिन्छ । यस्तै, यसै पर्वको गौपूजा, गोधनपूजा र भैयादुज दिनमा गरिने चलन छ । औँसीको रातमा गरिने लक्ष्मीपूजा सोमबार गरिए पनि सोही तिथिमा गरिने गौपूजा भने मङ्गलबार बिहान गरिने झाले जानकारी दिनुभयो । मैथिल परम्पराको दीपावली पर्वको गोधनपूजन कात्तिक शुक्ल प्रतिपदा र भैयादुज द्वितीया तिथिमा गरिन्छन् । यसअनुसार यसपालि गोधन बुधबार र भैयादुज बिहीबार सम्पन्न गरिनुपर्ने उनले बताए।

सामान्यत शारदीय नवरात्रको तिथिको भोग घटबढको प्रभाव त्यसलगत्तैको दीपावली पर्वमा पनि पर्ने गरेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउछन्। “यसपालि शारदीय नवरात्र चौथी (चतुर्थी) तिथि दुई दिन भोगमा रहँदा १० दिनको परेको थियो”, उनी भन्छन्, “यसैगरी यमपञ्चक तिथिको भोग घटबढले छ दिनको भएको छ ।”
दीपावली पर्व देशभर उमङ्ग र उत्साहसाथ मनाउने परम्परा छ । खासगरी पहिलो दिनको धनतेरस र लक्ष्मीपूजा मिथिलामा विशेष मानिन्छन् ।

प्रतिक्रिया