धनुषामा काँग्रेस–एमाले सभापतीबीच ‘मोछको लडाइँ’, ‘मुद्दामुद्धा’ खेल्दै

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा एमालेका दुई सभापतीबीच ‘मोछको लडाइँ’ अर्थात जुङ्गाको लडाइँले ‘मुद्दामुद्धाको खेल’ सुरु भएको छ। काँग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार र नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटीका सभापति अनिल कुमार चौधरीबीच पछिल्लो समय विवादले नयाँ रूप लिएको हो।

शनिवार दिनभर सामाजिक सञ्जालमा पजियारसहित सात जनाविरुद्ध जारी पक्राउ पूर्जीको विषय चर्चामा रह्यो। स्थानीय युवा नेता सितेश कुमार झाले गत असोज ३१ गते जिल्ला अदालत धनुषाबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरका नाममा जारी गरिएको ज्यान मार्ने उद्योग मुद्दाको पक्राउ पूर्जी सार्वजनिक गरेपछि सो क्षेत्र तरङ्गित बनेको थियो।

उक्त मुद्दा क्षिरेश्वरनाथ–५ का सुशील कुमार चौधरीले जिल्ला अदालत धनुषामा दर्ता गराएका हुन्। उनले काँग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, उनको छोरा अमर पजियार, सोही वडाका वडाध्यक्ष जिवछ मण्डल, उनको छोरा कमल मण्डल धानुक, नवल मण्डल, उनका छोरा नीरज मण्डल र क्षिरेश्वरनाथ–१ रमदैयाका उमेश यादवविरुद्ध मुद्दा दायर गरेका छन्। सुशील एमाले नगर सभापति अनिल चौधरीका भाई हुन्।

केही दिनअघि महेन्द्रनगरस्थित पजियारकै घर अगाडि नालासहितको कालोपत्रे सडक निर्माणका क्रममा काँग्रेस र एमाले समर्थकबीच भएको विवादपछि कुटाकुटसमेत भएको थियो। सो घटनामा एमाले सभापति चौधरीका बुवा राजदेव चौधरी र स्थानीय अनित यादवमाथि आरोपित पजियारसहितका सातजनाले ज्यान मार्ने प्रयास गरेको आरोप सुशीलले दर्ता गराएको मुद्दामा उल्लेख छ।

अदालतको सार्वजनिक पक्राउ पूर्जीमा अनुसूची २२ पाना २१ अनुसूची २३ पाना २१ र अनुसूची २५ पाना २१ समेत गरी जम्मा पाना ६३ तामेली गरी प्रतिवेदन पठाउन भनिएको छ।

उता, काँग्रेसतर्फका वडाध्यक्ष जिवछ मण्डलले पनि जिल्ला अदालत धनुषामा ज्यान मार्ने उद्योग शिर्षकमै मुद्दा दर्ता गराएका हुन् । उनले एमालेका राजदेव चौधरी, सुशील चौधरी, अनिल चौधरी, अनिल यादव र अनित यादवविरुद्ध मुद्दा दिएका छन् । तर मण्डलले दिएको मुद्दामा चौधरी पक्ष अदालतमा उपस्थित भई धरौटीमा रिहा भइसकेको बताइएको छ।

यावत कुरा दुबै पक्षबीच मुद्दाको विषयमा सामाजिक सञ्जालमा दोहोरो रुपमा सार्वजनिक हुन थालेपछि खुलेको हो । सभापति पजियारविरुद्धको पक्राउ पूर्जी जारी भएपछि चौधरीविरुद्ध दिएको जाहेरीका आधारमा फरार प्रतिवादीहरूको सीआरएस जाँच भइरहेको र सोही मुद्दा सम्बन्धी अदालतको अभियोग पत्र पनि सार्वजनिक भएको छ।

मण्डलले दिएको अभियोग पत्रमा सङ्घीय शहरी विकास मन्त्रालयबाट विनियोजित बजेटमा महेन्द्रनगरको मिलनचोकस्थित पूर्व–पश्चिम सडक कालोपत्रे कार्य भइरहेका बेला वडाध्यक्ष मण्डल जनगुनासो सुन्न पुगेका बेला उनीमाथि सुशील चौधरीसहितका व्यक्तिहरूले घेरा हाली घरेलु हतियार प्रयोग गरी कुटपिट गरेको उल्लेख छ। सो घटनामा उपचार खर्चसमेत माग गरिएको छ।

यता काँग्रेसका मण्डल पक्षले विवाद हुँदा चौधरी समूहबाट काँग्रेस पक्षका उमेश यादव, नीरज मण्डललगायतमाथि पनि ज्यान मार्ने प्रयास भएको आरोप छ।

यी दुई सभापतीबीच यसअघि पनि पटक–पटक विवाद र मुद्दा दायर हुँदै आएको स्थानीयहरू बताउँछन्। जिल्लामा जनकपुरधामपछिको सहर र राजनीति पनि पेचिलो हुने गरेको महेन्द्रनगरमा पजियार र चौधरीबीच ‘जुङ्गाको लडाइँ’ को कारण दिनानुदिन द्वन्द्व बढिरहेको स्थानीयको भनाइ छ।

यी विवादले दुबैजनाबीचको पावर एक्सरसाईज पनि भइरहेको स्थानीयहरू बताउँछन्। काँग्रेसका पजियार नेता विमलेन्द्र निधि निकट हुन् भने एमालेका यचा चौधरी नेता रघुवीर महासेठ निकट हुन्।

प्रहरी स्रोतका अनुसार दुवै पक्षविरुद्धका मुद्दामा कानूनअनुसार प्रक्रिया अघि बढाइने छ। यता पक्राउ पूर्जी जारी भएका काँग्रेस सभापति पजियारले भने आफू कानूनलाई सघाउँदै छठ पर्वपछि अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया