जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरीः संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचन समय भइ जेनजीका माग सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिएको छ । 

रामगोपालपुर नगर कमिटीको आयोजनामा आज पार्टी प्रवेश कार्यक्रममा उनले मुलुक अहिले जटिल अवस्थामा रहेको उल्लेख गर्दै त्यसको समाधान निर्वाचन भएको बताए । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सबै राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प छैन”, उनले भने।  उनले जेनजीले उठाएका विभिन्न मुद्दा सम्बोधन हुनुपर्नेमा पनि जोड दिए । 

उनले देशभित्र रहेका सबै वामपन्थी र कम्युनिस्ट दलबीच एकता आवश्यक रहेको पनि आवश्यकता औँल्याए।

‘मैले मधेशी जनतालाई भरोसा गरेर, मधेशी जनतालाई विश्वास गरेर सहयोगका लागि अपिल गर्न मधेश आउने गरेको छु,’ उनले भने,‘माओवादी केन्द्र विभाजित भएको बेला मधेश प्रदेशबाट निर्वाचित भएर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो । म मधेशको ऋणी छु । प्रत्येक अप्ठ्यारो परिस्थितिमा मधेश र मधेशी जनतालाई भरोसा गरेर नै अगाडि बढ्ने गरेको छु ।’

जेन-जी आन्दोलनले पैदा गरेको नयाँ परिस्थितिमा काठमाडौं छोडेर पहिलो पटक बाहिर मधेश प्रदेशको महोत्तरीमा आएर संवाद गर्न पाउँदा उर्जा प्राप्त भएको उनले बताए ।

‘राष्ट्रिय शक्तिहरुबीच सहमति र समझदारी आवश्यक छ,’ सभामा सम्बोधन गर्दै दाहालले भने,‘सबैभन्दा पहिले त हाम्रो पार्टीभित्रै राम्रो एकताको आवश्यक छ । देशभित्रका सबै वामपन्थी र कम्युनिष्टहरुको बीचमा सहमति र समझदारीको आवश्यकता छ । सबै शक्ति एक हुनुको विकल्प छैन ।’ राष्ट्रको रक्षा र मुलुकमा उत्पन्न संकटको सामना गर्न सबैलाई एकजुट हुन माओवादीले नै पहिले अपिल गरेको छ,’ उनले भने ।

राजनीति दलका नेताहरुलाई साक्षी राखेर राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी युवाहरुको पनि भावनालाई कदर गर्दै उनीहरुकै मागअनुसार अन्तरिम सरकार गठन भएको बताउँदै संविधानको रक्षा, जेन-जी युवाहरुको भावनाको कदर र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादीले भूमिका खेलेको उनले उल्लेख गरे ।

अभिभावकलाई दूश्मन ठान्नु गलत भएको भन्दै जेन-जी र माओवादी सँगै मिलेर चुनाव लड्ने उनले बताए । चुनाव हुन्छ र हुनै पर्छ भन्दै दाहालले सरकार र छिमेकीहरुसँग भएको संवादमा पनि नेपालको अवस्था सहज बनाउने विकल्प चुनाव नै भएको बताए । 

कार्यक्रममा दाहालले विभिन्न पार्टी परित्याग गरी आएका नवप्रवेशीलाई गम्छा लगाएर माओवादीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया