धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

जनकपुरधाम । धनुषामा यात्रुबाहक बस र अटो रिक्सा एकापसमा ठोक्किँदा एउटै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो। दुर्घटना धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक पूर्व–पश्चिम राजमार्गमा भएको हो।

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–१, भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटो चालक डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

उनीहरू एउटै परिवारका सदस्य भएको र सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा घाइते भएका १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरलाई गम्भीर अवस्थामा जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

प्रतिक्रिया