संरक्षण र विकासको पखाईमा मनमोहक कमलदह

सिरहा। सिरहा जिल्लाको चुरे क्षेत्रमा रहेको मनोमोहक कमल दह संरक्षण र विकासको पखाईमा रहेको छ ।
मिर्चैया नगरपालिका–९ मा अवस्थित ‘कमलदह’ एक अद्वितीय प्राकृतिक तालको रुपमा रहेको छ । जहाँ वर्षभरि कमलका फुलहरू फुलिरहन्छन् र जलले भरिपूर्ण रहन्छ । करिब २ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो दह हरियालीले ढाकिएको डाँडापाखाहरूको बीचमा अवस्थित एक सुन्दर र आकर्षक पर्यटकीय गन्त्व्यको रुपमा रहेको छ ।
पौराणिक, ऐतिहासिक, धार्मिक तथा पर्यटन दृष्टिकोणले महत्वपूर्ण मानिएको कमलदहले समृद्ध प्राकृतिक सम्पदाको पहिचान बोकेको छ । प्रत्येक नयाँ वर्ष, चाडपर्व तथा बिदाका समयमा यहाँ घुमफिर र पिकनिक मनाउन आउनेहरुको भीड लाग्ने गर्दछ । विशेषगरी, प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसरमा कमल दहमा विशेष रुपमा मेला लाग्दै आएको छ । जसलाई ‘ठुठिया मेला’ को नाउँले यस क्षेत्रमा चर्चा रहेको छ ।
श्रद्धालु भक्तजनहरू एकादशीका दिन यस दहमा स्नान गर्छन् । एकादशीमा कमल दहमा नुहाएपछि सबै पाप नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ । कमलदह मेलालाई कुस्ती (पहलवानी) को लागि पनि प्रसिद्ध स्थलका रूपमा चिनिन्छ । कमलदह परिसरमा हनुमान मन्दिर, शिव मन्दिर तथा अन्य देवी–देवताका थानहरू अवस्थित छ । जसले यसको धार्मिक महत्वलाई अझ प्रगाढ बनाएको छ ।

यो ऐतिहासिक स्थल सिरहा जिल्लामा संरक्षणको पखाईमा रहेको छ । स्थानीय सरकारदेखि प्रदेश सरकार र संघीय सरकारले पनि कमल दहको विकासको निम्ति खासै चासो र रुचि व्यक्त गरेका छैनन् । जसले गर्दा स्थानीयावसीले पटकपटक आवाज उठाएपनि कुनैपनि तहको सरकारले कमल दहको वृहत विकासको निम्ति गुरुयोजना अघि नबढाउँदा तालक्षेत्र जोखिममा रहेको स्थानीयवासीको भनाई रहेको छ । कमल दहको संरक्षण गरी आन्तरीक र बाह्य पर्यटकको स्थलको रुपमा विकास गर्न सकिने स्थानीयहरुले बताएका छन् । चुरेको फेदमै रहेको कमल दह मनामोहक स्थलको रुपमा रहेको छ । कमल दहलाई लिएर लोकदेवता सलहेशसँग जोडिएको छ ।
यता ठुठिया मेला लाग्ने गरेकोले मेलाको आकर्षणको निम्ति कुस्ति लगायतको खेलकुद आयोजना गर्दै आएको छ । कुस्तीमा नेपाल र भारतका विभिन्न देशका खेलाडीहरुवीच प्रतिस्पर्धा हुने गर्छ । सिरहा जिल्लामा कमलदहमा लाग्ने मेला हेर्न र कुस्ती देख्न विभिन्न स्थानबाट हजारौं दर्शनार्थीहरु पुग्ने गर्छन् ।






