कर्मचारीमाथिको आक्रमणप्रति निजामती कर्मचारी युनियनको घोर निन्दा

जनकपुरधाम । नेपाल निजामती कर्मचारी युनियन धनुषाले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नायव सुब्बा पंकज कुमार यादव लगायतका कर्मचारीमाथि भएको सामूहिक आक्रमणका घटनाप्रति दुःख व्यक्त गरेको छ।

युनियनले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमार्फत घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा भनिएको छ,–’राष्ट्रसेवक कर्मचारीहरू जनताको सेवामा समर्पित भई कार्यरत रहेका बेला उनीहरूलाई आक्रमण गर्नु लोकतान्त्रिक मूल्य र आचरणविपरीतको कार्य हो । मधेश प्रदेश सरकार गठनको विषय राजनीतिक तथा कानुनी बाटोबाट समाधान हुनुपर्ने हो, तर केही अराजक समूहहरूले कानुनलाई आफ्नै हातमा लिन खोज्नु चिन्ताजनक छ।’

युनियनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषाका अध्यक्ष जिवेन्द्र झा र पूर्व प्रदेश सांसद परमेश्वर साह लगायतको संलग्नतामा भएको भनिएको उक्त घटनालाई ’सांघातिक सामूहिक आक्रमण’ को रूपमा व्याख्या गर्दै उनीहरूलाई छिटो भन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ ।

युनियनले बझाएको ज्ञापन पत्रमा भनिएको छ,–’निरन्तर कर्मचारीमाथि हुने दुव्र्यवहारले प्रशासनिक मनोबल कमजोर पार्ने खतरा बढेको छ । त्यसैले प्रदेशका सबै मन्त्रालय र मातहतका कार्यालयहरूमा भरपर्दो शान्ति–सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीहरूलाई भयरहित वातावरणमा कार्य गर्न सक्ने अवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

नेपाल निजामती कर्मचारी युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेलद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा भनिएको छ,–’कर्मचारीमाथि भएका यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर तुरुन्त कारबाही गर्नुपर्छ, अन्यथा यो सम्पूर्ण राष्ट्रसेवक वर्गको सुरक्षासँग सम्बन्धित संवेदनशील विषय बन्न सक्छ ।’

प्रतिक्रिया