भोजपुरमा ‘बलजफ्ति भन्दा अनुनयन राम्रोः जेन जि संस्करण’ कार्यक्रम सम्पन्न

काठमाडौं । टेम्केमैयुङ गाउँपालिका–३, भोजपुरस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा ‘बलजफ्ति भन्दा अनुनयन राम्रोः जेन जि संस्करण’ शीर्षकको मानव सम्मान सिद्धान्त सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
स्टुडेन्ट्स फर लिबर्टीले “चोरी र हिंसाले सधैं सुख, सद्भाव र समृद्धिलाई कम गर्छ” भन्ने मूल विश्वासलाई आधार बनाएर मानव सम्मान सिद्धान्तबारे जागरूकता फैलाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको सुरुवात मानव सम्मान सिद्धान्त, शान्ति, स्वैच्छिक सहयोग र पारस्परिक सम्मानको महत्व प्रस्तुत गर्दै संक्षिप्त सत्रबाट गरिएको थियो। त्यसपछि मुख्य सामग्री ‘बलजफ्ति भन्दा अनुनयन राम्रोः जेन जि संस्करण’ वितरण गरी, समानुभूति र स्वैच्छिक क्रियाकलापहरूले समाजमा सकारात्मक परिवर्तन कसरी ल्याउन सक्छन् भन्ने विषयमा विस्तृत छलफल गरियो।
जेन जि द्वारा हालै भएका शान्तिपूर्ण विरोध प्रदर्शनहरू कसरी मानव सम्मान सिद्धान्तसँग मेल खान्छन् भन्नेबारे पनि सहभागीहरूसँग विचार विमर्श भयो। अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले दैनिक जीवनमा मानव सम्मान लागू गर्ने तरिका, यसले नेपालमा नागरिक सहभागितालाई कसरी सबल बनाएको छ, र यसको दीर्घकालीन सामाजिक प्रभावबारे आफ्ना अनुभव तथा दृष्टिकोण साझा गरे।
त्यसपछिको प्रतिबिम्ब सत्रमा सहभागीहरूले मानव सम्मानको दर्शनलाई व्यक्तिगत जीवन, सामुदायिक व्यवहार तथा व्यापक सामाजिक परिवर्तनसँग जोडेर आफ्नो बुझाइ प्रस्तुत गरे। कार्यक्रमको समापन बिङ्गो खेलका विजेताहरूलाई पुरस्कार वितरण गर्दै गरिएको थियो।






