ऋद्धि सिद्धि सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरमा रहेको ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

कार्यक्रम सहकारीका अध्यक्ष राजलाल महतोको अध्यक्षता र मधेस प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। प्रमुख अतिथि महतोले सहकारीले गरिबी घटाउन र समुदायमा आर्थिक सुधार ल्याउन महत्त्वपूर्ण योगदान गर्दै आएको बताए। उनले ऋद्धि सिद्धि सहकारीले ग्राहकहरूको विश्वास जित्न सफल भएकाले यसको विकास र प्रतिष्ठा बढिरहेको उल्लेख गरे।

साधारण सभामा अध्यक्ष राजलाल महतोले वार्षिक प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गरे। उनका अनुसार सहकारीले किसानका समस्या समाधान, सीप विकास, पुँजी व्यवस्थान र व्यवसायिक प्रवद्र्धनमा विशेष ध्यान दिँदै आएको छ। सहकारीले संकलित पुँजीलाई उत्पादन र व्यापारमा लगानी गर्ने रणनीति अपनाइरहेको छ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट दैनिक, मासिक र वार्षिक बचतकर्ताका साथै उत्कृष्ट ऋणी गरी २४ जनालाई इलेक्ट्रिक जग र गम्छा प्रदान गर्दै सम्मान गरिएको थियो।

साधारण सभामा मिथिला नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगी महतो, उपमेयर सुनिता सिंह बुढाथोकी, मंत्रालयका सचिव उमेश दहाल, प्रदेश रजिष्ट्रार रुपेश साह, मिथिलाका विभिन्न वडाध्यक्ष, मिथिला लघुवित्तका सीइओ, उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, प्रहरी, पत्रकार तथा शेयर सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रमको उद्घोषण तथा सञ्चालन शिक्षक गणेश घिमिरेले गरेको थियो ।

प्रतिक्रिया