विवाहपञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

जनकपुरधाम। विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आजदेखि तीन दिनसम्म माछा÷मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आज राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि उक्त रोक लगाएको हो ।
विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर ९ गते सुरक्षित, मर्यादित र सौहाद्र्रपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको सरोकारवालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री–वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।
सूचना विपरीत निषेधित क्षेत्रमा उक्त कार्य गरिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही भई जाने व्यहोरा उल्लेख गरिएको छ । मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वका रुपमा रहेको रामजानकी विवाह महोत्सवलाई लक्षित गरी निषेध गरिएको सहायक प्रजिअ दाहालले बताए।
यसैबीच विवाहपञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन तथा शान्तिसुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।






