नयाँ कमला पुल निर्माणका लागि जनस्तरबाट महाअभियान सुरु

सिरहा । डेढ दशकदेखि अधुरो अवस्थामा रोकिएको कमला नदीको पुल प्राविधिक रूपमा असफल ठहरिएपछि सिरहा र धनुषाका नागरिकहरूले जललाई साक्षी राखेर नयाँ कमला पुल निर्माणका लागि चन्दा अभियान सुरु गरेका छन्।
नागरिक अगुवाहरूको पहलमा गरिएको विमर्श कार्यक्रममा चन्दा संकलन कार्य औपचारिक रूपमा प्रारम्भ भएको हो। सामाजिक अभियन्ता तथा वरिष्ठ पत्रकार रामरिझन यादवले निश्चित मापदण्ड बनाएर १०० रुपैयाँ सदस्यता शुल्क उठाइने र संकलित रकम सरकारले पुल निर्माण अघि बढाउने वातावरण बनाउन दबाबस्वरूप बुझाइने बताए। उनका अनुसार सुरक्षित पुल निर्माण नहुँदासम्म स्थानीय बासिन्दा जोखिममा रहने भएकाले जनताको घरदैलोमा पुगेर अभियानलाई व्यापक बनाइनेछ।
डा. कृष्णा यादवले विवाह, विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालयलगायत हरेक सामाजिक गतिविधिमा नयाँ पुल निर्माणको मुद्दालाई निरन्तर उठाउनुपर्ने बताए। वक्ताहरूका अनुसार कमजोर निर्माण सामग्रीका कारण अधुरो पुल प्राविधिक रूपमा असफल र प्रयोगका लागि जोखिमपूर्ण भइसकेको छ। १४ वर्षअघि सुरु भएको काम पटक–पटक म्याद थपिँदै आएको छ भने २०७८ असार १७ मा बाढीले दुई पिलर भासिएपछि समस्या झनै गम्भीर बनेको छ। पुल नहुँदा मधेशका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा ठूलो असर परेको जनाइएको छ।
प्रधानमन्त्री, मन्त्री र विभागीय अधिकारीहरूले पुल निर्माणबारे प्रतिबद्धता व्यक्त गरे पनि काममा प्रगति नदेखिएको भन्दै जनस्तरबाट अभियन्ताहरूले करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमानित लागतका लागि सिरहा, धनुषा र सप्तरीका बासिन्दाबाटै चन्दा संकलन गरेर सरकारलाई सहयोग गर्ने योजना अघि सारेका छन्। शनिबार महाअभियान कार्यक्रम घोषणा गर्दै सिरहा नगरप्रमुख डा. नवीन कुमार यादव, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, अभियन्ता इ. प्रविण यादव, बाबा आलोक, भरत यादवलगायत सहभागीहरूले नयाँ कमला पुल अपरिहार्य रहेको धारणा व्यक्त गरे।
औरही गाउँपालिकाले एक करोड सहयोगको घोषणा
औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले कानूनी प्रक्रिया मिल्ने हो भने पालिकाको तर्फबाट नयाँ कमला पुल निर्माणका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरे। उनका अनुसार कमला नदीको सुरक्षित पुलले सिरहा–धनुषामात्र होइन, सम्पूर्ण मधेशलाई विकास, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा नयाँ उर्जा दिनेछ। उनले पुलले सबैभन्दा बढी सुविधा विपन्न वर्गलाई उपलब्ध गराउने दाबी गरे।
नयाँ कमला पुल निर्माणका लागि बिष्णु महायज्ञ, १०० रुपैयाँ सदस्यता अभियान, हरेक सामाजिक कार्यक्रममा पुल निर्माणको मुद्दा उठाउने तथा जनताको घरदैलोमा पुगेर चन्दा संकलन गर्ने योजनाहरू सहित महाअभियान सञ्चालन गरिने बताइएको छ।






