हेलिपोर्ट निर्माणमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौँ । नलिनचोक हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि विषेश अदालतले थुनामा पठाएको छ । विशेष अदालतका सूचना अधिकारी एज्ञराज रेग्मीका अनुसार आदेश अनुसार अधिकारी कारागार चलान भएका छन्।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउन आदेश दिएको हो। यस्तै इजलासले पूर्वनिर्देशक मुरारी भण्डारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।
हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा भ्रष्टाचार गरेको भन्दै सोही बराबर रकम सामुहिक बिगो कायम गर्दै बुधबार अख्तियारले मुद्दा अभियोजन गरेको थियो ।
अधिकारीसहितले सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारको छ। अख्तियारले अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई प्रतिबादी बनाइएको छ।






