मधेशको वित्तीय संकट समाधानका लागि अर्थमन्त्री यादवद्वारा संघीय सरकारलाई ध्यानाकर्षण

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले प्रदेशका गम्भीर वित्तीय समस्याहरू समाधानका लागि संघीय सरकारलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएका छन्। बुधबार संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको ध्यानाकर्ष उनले प्रदेशको सीमित स्रोत–साधन, अधुरा पूर्वाधार तथा कमजोर आर्थिक–सामाजिक सूचकका कारण नागरिकको अपेक्षा पूरा गर्न कठिनाइ भएको उल्लेख गरेका छन्।
मन्त्री यादवले संघीय समानीकरण अनुदानका तेस्रो र चौथो किस्ता प्रायः रोक्का हुने गरेको भन्दै यस्तो अवस्था तत्काल अन्त्य गरी स्वीकृत सबै रकम प्रदेशलाई निर्बाध रूपमा उपलब्ध गराउन आग्रह गरेका छन्। अनुदान रोकिँदा प्रदेशले सिर्जना भएका दायित्वसमेत पूरा गर्न समस्यामा पर्ने मन्त्री यादवको भनाइ छ।
यस्तै संघबाट हस्तान्तरण भएका सडक, पुल, सिँचाइ, खानेपानीसहितका धेरैजसो विकास आयोजना स्रोत अभावले अलपत्र परिरहेका भन्दै ती सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध गराउन उनले आग्रह गरेका छन्। संघीय सरकारबाट विगतमा प्रदान गरिएको समपुरक तथा विशेष अनुदानका आयोजनाहरू पनि समयमा सम्पन्न हुन नसक्दा निर्माणाधीन अवस्थामा रहेको आयोजनाहरुको कानून बमोजिम म्याद थप गर्नुपर्ने अवस्थामा संघीय सरकारबाट प्रतिबद्धता अनुरूपको बजेट नआउँदा उक्त आयोजनाहरु जोखिममा परेको ध्यानाकर्ष पत्रमा उल्लेख छ।
आगामी दिनमा समेत प्रदेशलाई जिम्मेवारीबद्ध बनाउन संघीय स्वीकृत दायित्वअनुसार रकम उपलब्ध गराउने नीतिगत व्यवस्था गर्नुपर्ने मन्त्री यादवको माग छ। साथै मधेश प्रदेशमा उठ्ने भन्सार महसुलको कम्तीमा १० प्रतिशत प्रदेशलाई राजस्व साझेदारीको रूपमा दिनुपर्नेमा उनले जोड दिएका छन्।
पत्रमा मधेश प्रदेशको मुख्य प्रशासनिक भवन वर्षौंदेखि निर्माण हुन नसकेको समस्या पनि उठाइएको छ। जनकपुर चरोट कारखानाको जीर्ण संरचना अस्थायी प्रशासनिक केन्द्रका रूपमा प्रयोग भइरहेको उल्लेख गर्दै मन्त्री यादवले यही जग्गा प्रदेश प्रशासनिक भवनका लागि नेपाल सरकारले औपचारिक रूपमा हस्तान्तरण गर्नुपर्ने माग गरेका छन्।
मधेशमा राजनीतिक अस्थिरता, रोजगारी अभाव, कमजोर शिक्षा तथा स्वास्थ्य, न्यून पूर्वाधार लगायतका चुनौती बीच नयाँ सरकारप्रति जनताको उच्च आशा रहेको भन्दै यी समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच मजबुत समन्वय अपरिहार्य रहेको मन्त्री यादवले उल्लेख गरेका छन्।






