धनुषा–४ मा रास्वपाबाट आशिष साह चुनाव लड्ने सम्भावना, सक्ला त महेन्द्र र रघुवीरसँग!

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा युवा नेता आशिष साह उम्मेदवार बन्ने सम्भावना देखिएको छ। दिग्गज नेताहरू रघुवीर महासेठ र महेन्द्र यादवको धमासान प्रतिस्पर्धा हुने यस क्षेत्रमा आशिष साहको सम्भावित आगमनले चुनावी माहोल थप रोचक बन्ने देखिएको छ।

आउँदो निर्वाचनमा धनुषाका चारै निर्वाचन क्षेत्रबाट युवा नेताहरू उम्मेदवारी दिन उत्साहित देखिएका छन्। अब युवा आउनुपर्छ भन्ने सोचका साथ उनीहरु क्षेत्रमा सक्रिय पनि देखि थालेका छन्।

रास्वपाको र्याट संगठनका प्रदेश सचिवसमेत रहेका साहले पार्टीले उपयुक्त ठानेर जिम्मेवारी दिए उम्मेदवारीबारे सोच्ने बताएका छन्।

धनुषा–४ मा विगत लामो समयदेखि सीमित व्यक्तिहरूबीच मात्रै प्रतिस्पर्धा हुँदै आएको छ। नेपाली कांग्रेसका चन्द्र मोहन यादव, महेन्द्र यादव र नेकपा (एमाले)का रघुवीर महासेठ पालैपालो यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

नयाँ उम्मेदवारको अभावका कारण मतदाताले वर्षौंदेखि उही अनुहारलाई विकल्पका रूपमा रोज्नुपरेको स्थानीयवासीहरूको गुनासो छ। यस्तो अवस्थामा रास्वपाबाट नयाँ पुस्ताका नेता आशिष साहको सम्भावित उम्मेदवारीले धनुषा–४ को राजनीतिक समीकरणमा थपिने आम सर्वसाधारणको आकलन छ।

प्रतिक्रिया