प्रभु बैंकको कर्जा घोटालामा नाम जोडिएपछि जानकी मेडिकलका मालिक ओपी पाण्डे सपरिवारसहित गायब!

जनकपुरधाम। प्रभु बैंकमा भएको कर्जा हिनामिना प्रकरणमा नाम जोडिएपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालका मालिक ओपी पाण्डे अर्थात ओमप्रकाश पाण्डे सपरिवारसहित गायब भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकका उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरी अनुसन्धान तीव्र बनाएसँगै जानकी मेडिकलका सञ्चालक पाण्डे फरार भएको स्रोतले जनाएको छ। पाण्डे र उनका जेठा छोरा, जो कलेजका प्रबन्ध निर्देशक (एमडी)समेत हुन्, उनी एक देशमा, श्रीमती अर्को देशमा रहेको उनको निकट श्रोतले बताएको छ। यस्तै कान्छो छोरा काठमाडौंमै आफ्नो घर भन्दा बाहिर रहेको बुझिएको छ। सिआईबीका एक पदाधिकारीका अनुसार अनुसन्धानको राडारमा तानिएको पाण्डेसँग करिब ११ दिनदेखि सम्पर्क गर्न खोजिरहेका छौं तर सम्पर्क हुन सकेको छैन्।

जानकी मेडिकल कलेजसँग सम्बन्धित रामजानकी हेल्थ फाउन्डेसनको नाममा प्रभु बैंकबाट लिएको ठूलो परिमाणको कर्जा हाल खराब कर्जामा परिणत भएको बुझिएको छ। कर्जा लिन फर्जी कागजात प्रयोग गरिएको हुनसक्ने आशंकामा समेत अनुसन्धान केन्द्रित हुँदै गएको छ।

यता संचालक पाण्डेले बैंकका पदाधिकारीहरु कलेजको कागजातहरु प्रयोग गरेर दुरुपयोग गरेको समेत बुझिएको छ।

यस्तै केही महिनाअघि संघीय सरकारअन्तर्गतको एक मन्त्रालयले कानुन उल्लंघन गरेको ठहर गर्दै जानकी मेडिकल कलेजलाई २५ लाख रुपैयाँ जरिवाना तिराएको तथ्य पनि बाहिर आएको छ। बैंक कर्जा घोटालासँग जोडेर कलेज र सञ्चालकविरुद्ध थप रहस्यहरू खुल्ने सम्भावना रहेको छ।

प्रतिक्रिया