चर्चामा रहेका शम्भु साहलाई किन बनाएन सिके राउतले मन्त्री?बसन्त कुशवाहाले हाने ह्याट्रिक
जनमत पार्टीमा चरम असन्तुष्टि, अध्यक्ष सिके राउतलाई धम्की

जनकपुरधाम। मधेश प्रदेशमा बुधबार मन्त्रिपरिषद् विस्तार भएसँगै प्रदेश सरकारले पूर्णता पाएको छ। नेपाली कांग्रेससहितको गठबन्धन सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद् विस्तार भएको हो।
नवगठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शङ्करप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय तथा श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। जनमत पार्टीबाट बसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्री बनाइएको छ भने नेकपा माओवादी केन्द्रबाट फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यो पनिः मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो
जनमत पार्टीबाट मन्त्री बनेका बसन्तकुमार कुशवाहा यसअघि पनि मन्त्री भइसकेका व्यक्ति हुन्। उनलाई यसपटकसहित लगातार तेस्रो पटक मन्त्री बनाइएपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ। प्रदेशसभा सदस्यदेखि पार्टीका नेता–कार्यकर्तासम्म असन्तुष्ट बनेका छन्। कुशवाहा यसअघि दुई पटक उद्योग,वाणिज्य तथा पर्यटन मन्त्री बनिसकेका छ।
समानुपातिक प्रणालीमार्फत प्रदेशसभा सदस्य बनेका कुशवाहालाई पटक–पटक मन्त्री बनाइएको भन्दै पार्टीका सांसदहरूले पार्टी अध्यक्ष डा. सिके राउतप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। पार्टीभित्र असन्तुष्ट व्यक्तिहरुलेले पार्टी छोड्नेसम्मको धम्की दिन थालेको जनमत पार्टी निकट स्रोतले जनाएको छ।
मन्त्रिपरिषद् विस्तारपछि बुधबार दिउँसो जनमत पार्टीका एक प्रदेशसभा सदस्यले पार्टी अध्यक्ष राउतलाई फोनमार्फत धुमाउरो शैलीमा पार्टी परित्यागको संकेतसहित असन्तुष्टि व्यक्त गरेको स्रोतले बतायो।
यस सरकारमा जनमत पार्टीबाट प्रदेशसभा सदस्य शम्भु कुमार साहको नाम मन्त्रीका रूपमा चर्चामा थियो। साह यसअघि केही समयका लागि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। तर अन्तिम समयमा उनको नाम मन्त्री सूचीमा समावेश भएन।
बसन्तकुमार कुशवाहा व्यापारिक पृष्ठभूमिबाट आएको भन्दै पैसाको चलखेलका कारण कारण पटक–पटक मन्त्री बन्ने गरेको आरोपसमेत सामाजिक सञ्जालमा उठ्न थालेको छ।
नियमसम्मत शम्भु साहको चान्स थियो, बसन्त कुशवाहालाई नै चान्स किन? महेश प्रसाद यादवलाई दिइयो र शम्भुलाई किन दिइएन? चन्दन सिंहलाई किन दिइएन? संजय यादवलाई किन दिइएन? समानुपातिकबाटै प्रदेश सांसद रहेका भागेश्वरी चौधरीलाई किन दिइएन? पार्टीका एक प्रभावशाली नेता र मन्त्री रहिसकेका एकजना नेताको यस्तो आरोप छ।
अरु समानुपातिकलाई दिइँदैन, किनभने उ पार्टी अध्यक्षलाई पैसा बुझाउँन सक्दैन, स्वार्थकै कारण पटक पटक मन्त्री बनाइँदैछ, व्यापारीसमेत रहेका कुशवाहाले बुझाउँन सक्छ, त्यसैले उसलाई पटक पटक मन्त्री बनाउँदै आएको छ, उनले भने।
शम्भुहरु सकेन र बसन्त जी सक्यो त्यसैले उसलाई बनाइयो। पछिल्लो पटक कुशवाहा उद्योगमन्त्री छदा मन्त्रालयको योजनामा डिपिआर नै डिपिआर राखेको आरोप पनि वर्तमान सभामुख रामअशिष यादवले त्यतिबेला लगाएको थियो। उनले त उद्योग, पर्यटनमन्त्रीको नाम नै डिपिआरमन्त्री राखे हुने उनले टिप्पणी गरेका थिए।
ती नेताले पर्यटन मन्त्रालयको सबै योजना म्यानेज फेरी मन्त्री बनाइएको ती नेताले बताए। अब अर्थमन्त्रीलाई पनि प्रेसर हुनसक्ने उनको भनाई छ। उनका अनुसार अर्थमन्त्रीबाट उक्त मन्त्रालयको बजेट रोकेर उता चेक एण्ड ब्यालेन्स कुशवाहाले गर्नेछन्।
यसैबीच जनमत पार्टीका पूर्व सक्रिय तथा कट्टर कार्यकर्ता राकेश साहले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “समानुपातिक कोटाबाट सांसद बनेका व्यापारी नेताले मन्त्री पदमा ह्याट्रिक गरे, तर प्रत्यक्ष निर्वाचित सांसदहरू हेरेको हेरै।” उनले पार्टी अध्यक्ष डा. सिके राउतका निर्णय तथा कार्यशैलीप्रति कडा टिप्पणी तथा आलोचना गर्दै आएका छन्।
मन्त्रिपरिषद् विस्तारसँगै जनमत पार्टीभित्र बढ्दो असन्तुष्टिले पार्टीको आन्तरिक राजनीति थप जटिल बन्दै गएको बुझिएको छ।






