आज अचानक थाहा भयो म मन्त्री बन्दिनँः जनमत पार्टीका सांसद शम्भु साह

जनकपुरधाम। बुधबार मधेश प्रदेश सरकारले मन्त्रीपरिषद् विस्तारसँगै पूर्णता पाएको छ। नेपाली कांग्रेससहितको गठबन्धन सरकारमा ६ जना मन्त्री थपिएपछि सरकार पूर्ण बनेको हो। नयाँ मन्त्री बनेकाहरू खुशी देखिए पनि जनमत पार्टीका प्रदेश सांसद शम्भु कुमार साह भने निराश देखिएका छन्।
यो पनिः मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो
सरकार गठनको सुरुवातदेखि नै मन्त्री बन्ने चर्चा रहेका जनमत पार्टीका सांसद साहलाई यसपटक मन्त्री नबनाइएपछि उनी दुःखी भएका छन्। आफूलाई किन मन्त्री नबनाइएको भन्ने प्रश्नमा उनले भने, “यो विषयमा दलको नेतासँग सोध्नुपर्छ, म केही भन्न सक्दिन।”
सांसद साहका अनुसार आफू मन्त्री बन्नेमा ढुक्क थिए। “मलाई मन्त्री बन्छु भन्ने विश्वास थियो। सर्वत्र चर्चा पनि थियो। म सप्तरी क्षेत्र नं. ३(२) बाट प्रत्यक्ष निर्वाचित सांसद हुँ, तर किन मलाई मन्त्री बनाइएन, मलाई थाहा छैन,” उनले दुःख व्यक्त गरे।
यो पनिःचर्चामा रहेका शम्भु साहलाई किन बनाएन सिके राउतले मन्त्री?बसन्त कुशवाहाले हाने ह्याट्रिक
उनले भने, “आज अचानक समाचार आएपछि मात्रै थाहा भयो कि मलाई मन्त्री बनाइँदैन। हाम्रो पार्टीका प्रायः सबै सांसद मन्त्री भइसकेका छन्। म मात्रै बाँकी थिएँ, यसपटक त पक्कै बनाउँछन् भन्ने आशा थियो, तर त्यो पूरा भएन।”
सांसद साह जनमत पार्टीका प्रदेश सांसदहरूमध्ये सबैभन्दा कम उमेरका हुन्। उनी इन्जिनियर समेत हुन्। यसअघि जनमतकै सतीश सिंह नेतृत्वको सरकारमा उनले सात दिनसम्म उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
“पार्टीभित्र पनि सबैको बुझाइ पनि शम्भु नै मन्त्री बन्छ भन्ने थियो। तर अचानक किन मलाई बनाइएन भन्ने कुरा बुझ्न सकिरहेको छैन,” उनले भने। दलको नेताबाटसमेत कुनै जानकारी नपाएको र शपथ ग्रहण कार्यक्रममा समेत नबोलाइएकोमा उनले गुनासो गरे।
आफ्नो योग्यता पार्टीका अन्य सांसदभन्दा कम नभएको दाबी गर्दै सांसद साहले नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा डिप्लोमा इन्जिनियरिङ तथा मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका छन्।
यता पार्टीमा समानुपातिक कोटाबाट सांसद बनेका बसन्त कुशवाहा लगातार तीन पटक मन्त्री बनिसकेका छन्। कतिपयले कुशवाहा भन्दा पनि सांसद साहले मौका पाउनुपर्थ्यो भन्ने किसिमको प्रतिकृया दिइरहेका छन्।






