जानकी मेडिकल कलेजलाई २५ लाख जरिवाना

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताललाई २५ लाख रुपैया जरिवाना भएको छ। कलेजलाई संघीय सरकारका वन तथा वातावरण मन्त्रालयले २५ लाख रुपैया जरिवाना तिराएको हो।
सञ्चालनमा आएको २० वर्षदेखि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए–ईनभाईरोमेन्टल ईम्प्याक्ट एसिसमेन्ट) नगरेर मेडिकल कलेज सञ्चालन गरिरहेकोले जरिवाना तिराएको हो। यसअघि कलेजको यो समाचार पहिलो पटक नागरिक मिररमा प्रकाशन भएको थियो । त्यसपश्चात कलेजसँग बार्गेनिंगमा लागेका तत्कालिन वनमन्त्री डा. विरेन्द्र महतोका सचिवालयले जरिवानाकै प्रकृयामा लगाएको थियो । मन्त्रीकै तोकादेशमा जरिवाना लिने त्यसबेला महाशाखाका एकजना कर्मचारीले बताएका थिए।
सुरुमा मन्त्रीको सचिवालयबाट कलेजका आधिकारिक प्रतिनिधिलाई मन्त्री डा. महतोसँग भेट्न बोलाइँदै आएको थियो। मन्त्रीज्यूकै तोकादेशअनुसार जरिवाना लाग्ने भन्दै भेट्न नआए अधिकतम जरिवाना हुने चेतावनी दिँदै विभिन्न व्यक्तिमार्फत सचिवालयले कलेजलाई निरन्तर ताकेता गरिरहेको थियो।
रामजानकी मेडिकल फाउण्डेसनद्वारा सञ्चालित उक्त कलेजलाई वातावरण संरक्षण ऐन, २०७६ को परिच्छेद ६ दफा ३५(ग) बमोजिम कारबाही गरिएको हो। ऐनअनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदन विपरीत प्रस्ताव कार्यान्वयन गरेमा ५० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। तर, पहिलो पटकको उल्लंघन भन्दै कलेजलाई २५ लाख रुपैयाँ जरिवाना लिएर सुधारको मौका दिइएको बुझिएको छ।
कलेजका सञ्चालक ओमप्रकाश पाण्डेले पहिलो पटकका लागि मौका दिन आग्रह गरेपछि २५ लाख रुपैयाँ जरिवाना लिइएको हो। सञ्चालक पाण्डेका श्रीमती तथा कलेजकी निर्देशक अर्चना पाण्डेले बैंक भौचरसहित मन्त्रालयमा पेश गरेको निवेदनमा उल्लेख छ कि वन तथा वातावरण मन्त्रालयको च.नं.३९० को पत्रअनुसार वन तथा वातावरण मन्त्रीस्तरीय मिति २०८०÷०७÷१२ को निर्णय बमोजिम श्री रामजानकी हेल्थ फाउण्डेसन प्रा.लि. अन्तर्गत सञ्चालित श्री जानकी मेडिकल कलेज, जनकपुर–धनुषाले रु. २५,००,०००(अक्षरेपी पच्चीस लाख रुपैयाँ मात्र) बुझाउने निर्णय भएकोले सोही अनुसारको रकम भुक्तानी गरिएको छ, र त्यसको बैंक भौचर तथा सम्बन्धित सम्पूर्ण कागजात निवेदनसाथ संलग्न गरिएको छ।
यसैबीच कलेजको भवन पनि कानुनविपरीत रहेको बताइएको छ। हालसम्म भवन नक्सा पास नभएको र कलेजले आफैं फर्जी नक्सा तयार पारेको आशंका भए पनि त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन्।






