मधेश सरकारले सरकारी विद्यालयमा दिवा खाजाका लागि मोडुलर किचेन निर्माण गर्दै

जनकपुरधाम। मधेश प्रदेश सरकारले प्रदेशभरका सरकारी (सामुदायिक) विद्यालयमा दिवा खाजाका लागि मोडुलर किचेन निर्माण गर्ने भएको छ। प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ७६ वटा सामुदायिक विद्यालयमा मोडुलर किचेन निर्माण गर्ने भएका छन्।
समपूरक अनुदानअन्तर्गत सञ्चालन हुने यस कार्यक्रमका लागि मन्त्रालयले सूचना प्रकाशित गर्दै हाल दिवा खाजा सञ्चालनमा रहेका इच्छुक सामुदायिक विद्यालयहरूबाट प्रस्ताव आह्वान गरेको छ।
सूचना अनुसार विद्यालयहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित मन्त्रालयमा प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्तावका साथ दिवा खाजा कार्यक्रमबाट लाभान्वित विद्यार्थीहरूको नामावलीसहित कक्षागत विवरण, स्थानीय तहको शिक्षा शाखाको सिफारिस, विद्यालयको नाममा रहेको वा विद्यालयको हकभोगमा रहेको जग्गाको प्रमाण तथा विद्यालय हाताभित्र मोडुलर किचेन निर्माणका लागि कम्तीमा १९ मिटर लम्बाइ र १२ मिटर चौडाइ क्षेत्रफलको खाली जग्गा उपलब्ध रहेको प्रतिबद्धता पत्र संलग्न गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार प्राप्त प्रस्ताव तथा कागजातको मूल्यांकनपछि छनोट भएका विद्यालयहरूमा मोडुलर किचेन निर्माण गरिनेछ। यस कार्यक्रमले विद्यालयमा दिवा खाजा व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा विद्यार्थीको उपस्थिती, पोषण र सिकाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा मन्त्रालयको छ।






