घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सम्झौता भएपछि पछिल्लो समय कुलमान घिसिङको तस्बिर सार्वजनिक भएको छ। स्रोतका अनुसार नागरिक सरकारअन्तर्गत सहरी विकास तथा ऊर्जा मन्त्रालय सम्हालिरहेका घिसिङलाई रास्वपाले १७ प्रतिशत भाग दिने गरी सम्झौता गरिएको हो।

सम्झौताअनुसार कुलमान घिसिङले आगामी फागुन २१ मा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नं. ३ बाट उम्मेदवारी दाबी गर्ने तयारी गरेका छन्। स्रोतले यो जानकारी नागरिक मिररलाई दिएको हो।

घिसिङ हाल तत्काल राजनीतिक भूमिकामा सक्रिय नदेखिए पनि समानुपातिक प्रतिनिधित्व र भावी राजनीतिक समीकरणबारे उनी कडा तर आशावादी देखिएको स्रोतको भनाइ छ। उनका अनुसार हालको सम्झौताअनुसार घिसिङ काठमाडौं क्षेत्र नं. ३ बाटै उम्मेदवारी दिने तय भएको छ।

उज्यालो नेपाल पार्टी र रास्वपाबीच कति सिट र प्रतिशत बाँडफाँट गर्ने भन्ने विषय भने अझै टुंगो नलागेको बताइएको छ। यसबारे थप छलफलपछि निष्कर्ष निकालिने स्रोतले जनाएको छ। उज्यालो नेपाल पार्टीका २० प्रतिशत प्रतिनिधि रास्वपासँगको सहकार्यमा जोडिने बताइए पनि नेतृत्व तहमा भएको समझदारीबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।

यसैबीच, रास्वपासँग मिलन गराउन भूमिका खेलेका सुधन गुरुङको हाल कुनै प्रभावकारी अस्तित्व नदेखिएको उल्लेख गर्दै स्रोतले नागरिक मिररलाई थप सजग, समावेशी र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया